गठवन्धनमा सिट बाँडफाँड मिल्छ, चुनाव सर्दैन्ः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचन नसर्ने दावी गरेका छन् । उनले सोमबार पत्रकार सम्मेलन गर्दै चुनाव नसर्ने बताएका हुन् । 

प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागिपरेको आरोप लगाइरहँदा प्रचण्डले सत्ता गठबन्धनभित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको र आफूहरुको सिट भागबण्डा पनि चाँडै मिल्ने बताए । 

Advertisement

उनले सत्तारुढ गठबन्धन दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँडको विषयमा आज बेलुकासम्म सहमति जुट्ने दावी गरे । अहिले आफू गठबन्धन दलहरुबीचको छलफलबाटै आएको र बेलुकासम्म सहमति जुटने भन्दै प्रचण्डले भने, ‘६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । महानगर टुंगिनेको नजिक छ । बेलुकासम्म महानगर र उपमहानगरपालिकाको तालमेल निष्कर्षका पु¥याउने छौं ।’

शिक्षा र रोजगारीलाई आफूहरुले चुनावमा प्रमुख एजेन्डा बनाउने उनले बताए । प्रचण्डले गठवन्धनभित्र साझा चुनाव चिन्हबारे छलफल भइरहेको स्वीकार गर्दै आसन्न स्थानीय निर्वाचनमा भने त्यो सम्भावना कम रहेको बताए । 

उनले भने, ‘वडाध्यक्ष जसले पाउँछ, उसकै चुनाव चिनाव चिन्ह लिएर जाने छलफल भइरहेको छ । तर तत्काल सम्भावना छैन ।’ साथै, उनले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताए । 

भरतपुर र रेनु दाहालमा आफूले अडान नलिएको प्रचण्डको भनाई थियो । उनले भने, ‘भरतपुर नै नभई भएन रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।’

तर विगतको चुनावमा माओवादी केन्द्रले जितेको हुनाले माओवादी केन्द्रले भरतपुर लिँदा नै उपयुक्त हुने प्रचण्डको तर्क छ । 

साथै, प्रचण्डले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताए । अर्थमन्त्री जनार्दन शर्मा निकै विवादमा परेको सन्दर्भमा उनलाई हटाउने चर्चा चलिरहे पनि उनले त्यस्तो संभावना नरहेको बताएका हुन् । 

Advertisement

Advertisement