नेपालमा पहिलो ‘आइस–स्केटिङ’ स्थल राजधानीकै मुटुमा

Advertisement

काठमाडौं। कोरोनाको प्रभाव कम भएसँगै मानिसहरु घुमफिर र मनोरञ्जनका लागि नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको खोजीमा निस्किन थालेका छन् । तर राजधानी काठमाडौंको मुटुमा नयाँ मनोरञ्जनस्थल सञ्चालनमा आएको छ, जसबारे थारे मात्रै जानकार छन् । 

अहिलेको प्रचण्ड गर्मीमा विशेषगरी बालबालिका र युवा पुस्तालाई लक्षित गरेर भद्रकाली प्लाजामा ‘फन ल्याण्ड’ सञ्चालनमा आएको छ । ‘आइस स्केटिङ’ खेल्न सकिने यो ठाउँ गर्मीको समयमा चिसो ठाउँमा मनोरञ्जन लिन चाहनेहरुको लागि निकै आकर्षक गन्तव्यको रुपमा फन ल्याण्ड देखिएको छ । 

Advertisement

मानिसहरुको फरक र नयाँ कुरामा चासो राख्ने भएकाले काठमाडौं उपत्यकाका मानिसहरुलाई नयाँ खालको मनोरञ्जन प्रदान गर्न ‘आइस स्केटिङ’ खेल्ने सुविधा सुरु गरिएको यसका सञ्चालक प्रज्वल बोहोरा बताउँछन् । 

राजधानीको बढ्दो गर्मीको समयमा केही समय भए पनि चिसोबाट आनन्द लिन सुरु गरिएको फन ल्यान्डभित्र छिर्ने बित्तिकै फरक अनुभव हुन्छ । 

कसरी आयो अवधारणा ? 
नेपालमा केही नयाँ कुराको सुरुवात गर्ने सोचमा रहेका चार जना साथीहरु मिलेर ‘आइस स्केटिङ’ सञ्चालन गर्ने योजना बन्यो र फन ल्याण्ड तयार गरिएको हो । नेपालमा आइस स्केटिङ खेल्ने ठाउँ चाहिन्छ भन्ने हिसाबले सुरु गरेका हौं । यो खालको ठाउँ मानिसहरुले खोज्दै आए पनि अभाव रहँदै आएको थियो । यो साढे ६ रोपनी जग्गामा बनेको छ। हामीले यो जग्गा १० वर्षका लागि भाडामा लिएको जग्गा हो ।

हामीले अहिले बेसिक, आइस स्केटिङ, एक्स्ट्रिम, माजा जस्ता प्याकेजहरु राखेका छौं । बेसिक प्याकेजमा निन्जा प्रशिक्षण, रक क्लाइमिङ, ट्यापोलिन, टड्लर रहेको छ। आइस स्केटिङ प्याकेजमा आइस स्केटिङ मात्र खेल्न पाइन्छ । यसमा ४० मिनेटसम्म आइस स्केटिङ खेल्न पाइन्छ । 

त्यस्तै, अर्को माजा प्याकेजमा आइस स्केटिङ र बेसिकको संयोजन गरेर राखेका छौं जसमा आइस स्केटिङ एक घण्टा खेल्न पाइन्छ । माजा प्याकेजको एक जना व्यक्तिलाई दुई हजार रुपियाँ पर्छ। एक्स्ट्रिम प्याकेजमा दुई घण्टा ३० मिनेटको आइस स्केटिङ हुन्छ र बेसिकको कम्बिनेशन रहेको छ । एक्स्ट्रिम प्याकेजमा एक जना व्यक्तिलाई तीन हजार पर्छ। 

हामीले चैते दशैंबाट यसको सुरुवात गरेका हौं। अहिले हामीले सफ्ट उद्घाटन मात्र गरेका हौं। अझै कामहरु बाँकी छ । त्यसपछि उद्घाटन गर्ने योजना छ । यो खोल्नुको उद्देश्य नेपालमा परिवारलक्षित मनोरञ्जन स्थल खासै छैन्। एउटा परिवारलक्षित स्थल हुनुपर्यो जहाँ बालबालिकको वृद्धिविकास र परिवारसँग अलिकति अन्तरक्रिया होस् । त्यसै उद्देश्यले हामीले यो फन ल्यान्ड सञ्चालनमा ल्याएका हौं । 

यहाँ आइस स्केटिङ एक चोटीमा ४०–४५ जनासम्म खेल्न मिल्ने व्यवस्था छ । हामीले ग्राहकहरुको सुरक्षाको लागि हेलमेट नलगाई खेल्न जान दिँदैनौं । त्यसका लागि हामीले अहिले चार जना जति प्रशिक्षकहरुको पनि व्यवस्था गरेका छौं। हामीसँग यहाँ ३५ जना जति कर्मचारी छन्। यहाँ खेल्न आएका बालबालिकहरुको टिकट काटे अभिभावकहरुलाई प्रवेश शुल्क लाग्दैन । ‘फन ल्यान्ड’मा बालबालिकादेखि लिएर सबैले यसको मज्जा लिन सक्ने व्यवस्था छ । आइस स्केटिङदेखि लिएर विभिन्न खेलहरुको मज्जा लिन सक्ने छन् । बिहान १० बजेदेखि रातिको १० बजेसम्म सञ्चालन गर्छौं । अहिले दिनहुँ करिव ३० जना जति आउने गरेका छन् । त्यस्तै, शनिबारका दिन अझ् बढी करिब ५० जना जति ग्राहक आउने गर्छन् ।

सेवाग्राहीको अनुभवः
आइस स्केटिङ खेल्न साथीहरुसँग आएका हात्तिवनका १४ बर्षीय रुद्राक्ष श्रेष्ठ कक्षा ८को परीक्षा सकी बिदामा रमाइलो गर्न ‘फन ल्यान्ड’मा आएको बताउँछन् । उनी भन्छन्, ‘यहाँ पहिलो पटक आएको, एकदम रमाइलो लागिराछ । हामीले यो यूट्युव र टिकटकमा देखेर खेल्न आएको हो । यसअघि पाग्रेवाला स्केट मात्र खेलेको थिए । पहिलो पटक आइस स्केटिङ गरेको । एक्दम रमाइलो लाग्यो ।’

त्यस्तै, सामाखुशीबाट आफ्नो परिवारसहित स्केटिङ खेल्न आएका कक्षा ४ मा अध्ययनरत १० वर्षीय अबित्नराज जोशी रमाइलोसँगै हल्का डर पनि लागेको अनुभव सुनाए । इमाडोलबाट छोराछोरीलाई उनीहरुको साथीको जम्मदिनमा लिएर आएका बार्सा भट्टराईले भन्छिन्, ‘यो ठाउँमा नयाँ कुरा छोराछोरीले अनुभव लिन पाएकोमा खुःसी छु । उनीहरुले यहाँ ३–४ घण्टा आरामले बिताउन सक्छन्। अहिले बाहिर यस्तो गमी छ । यहाँभित्र छिरिसकेपछि छुटै वातावरण महशुस भयो । चिसो महशुस भयो । बच्चाहरु खेलेर पसिना पसिना होला भन्ने पनि छ्रैन्। स्केटिङले गर्दा तापमान कायम राखेको छ । मलाई यहाँको लोकेशन राम्रो लाग्यो ।’ 

त्यस्तै, धुम्बाराहीबाट आफ्नो बच्चा लिएर फन ल्यान्ड आएका सौरभ चन्दले कपोरेट नेपालसँग भने, ‘यहाँ स्केटिङ मात्र नभएर अरु पनि धेरै कुराहरु खेल्नमिल्ने ठाउँ रहेछ। हामी बच्चा हुँदाखेरी यस्तो खेल्न पाएको भए कति रमाइलो हुन्थ्योहोला ! बच्चाहरुको लागि यो रमाइलो ठाउँ हो। झन् यो आइस स्केटिङ युनिक लाग्यो ।’

Advertisement

Advertisement