माओवादी छोडेर गएका सबैलाई प्रचण्डले भने– आउनु सबैजना, एकता गरौं

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्तालाई एकतामा आउन आव्हान गरेका छन् । 

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा उनले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकतावद्ध हुन आव्हान गरेका हुन् । प्रचण्डले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकतावद्ध हुनु आवश्यक रहेको बताए । 

Advertisement

उनले भने,  ‘म सबै माओवादी आन्दोलनका उपज सबै धाराका नेता, कार्यकर्ताहरुलाई विशेषरुपले अपिल गर्न चाहान्छु । आउनुहोस् अहिले पनि देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यताहरु, मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भई नै राखेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेकै छ । अहिलेपनि यो देशका महिला, दलित, आदिबासी, जनजाति, मधेशी, थारु, मुस्लिम लगायत उत्पीडित जनताले पाएका अधिकार र पहिचानहरु खोस्ने षड्यन्त्र रोकिएको छैन । त्यसकारण हामी सबै यो परिवर्तनका पक्षधरहरु, यो परिवर्तनको निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्नेहरु सबै एक ठाउँमा केन्द्रीत हुन जरुरी छ ।’ 

प्रचण्डले विगतमा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउनका लागि एमालेसँग एकीकरण गरेको उल्लेख गर्दै एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी विर्सजनवादी चिन्तनका कारणले सफल हुन नसकेको बताए । 

प्रचण्डले एमालेभित्रका वाम गठबन्धनका पक्षधरहरुले पार्टीभित्र संघर्ष गर्नुपर्ने पनि बताए । उनले भने, ‘सम्पूर्ण एमालेभित्रका ती इमान्दार कम्युनिष्टहरु, जो साँच्चै वाम गठबन्धनको पक्षमै हुनुहुन्थ्यो । हुनुहुन्छ अहिलेपनि । कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ, भनिराख्नु भएको छ अहिलेपनि उहाँहरुलाई गलत प्रवृत्तिको विरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस् । आज पार्टी स्थापना दिवसले, लेनिन जयन्तीको यो ऐतिहासिक दिनले इमान्दार कम्युनिष्टहरु सबैलाई फेरी एकचोटी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुछ ।’

Advertisement

Advertisement