काठमाडौं। पूर्वगोरखा सैनिक हरि बुढामगर कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविर पुगेका छन् । अफगानिस्तानको लडाइँमा दुवै घुँडाभन्दा माथि खुट्टा गुमाएका उनले कृतिम (प्रोस्थेटिक) खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर स्काइड्राइभिङ पनि सफलतापूर्वक गरेका छन्। उनले हेलिकप्टरबाट स्काइड्राइभिङ गरेका हुन् ।
घुँडाभन्दा माथि खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने हरि बुढामगर पहिलो भएको बताइएको छ । उनले जेनियम ३ नाम गरेको कृतिम खुट्टाले सहायताले पदयात्रा गरी आधार शिविर पुगेर साहसिक कार्य प्रस्तुत गर्न सफल भएका हुन् ।
बुढामगरको गाइड सुमन बुढामगरले ‘कुनै कुरा पनि असंभव छैन्’ भन्ने सन्देश दिन हरि बुढामगर सफल भएको बताए । उनले कृतिम खुट्टाको सहायताले अर्को वर्ष सगरमाथाको आरोहण गर्ने योजनासमेत बनाएको बताएका छन् ।
गाइड बुढामगरका अनुसार रोल्पाका हरि बुढामगरले सन् २०१० मा अफगानिस्तानको हेल्मण्डमा खटिएको बेला बिधुतीय धराप ब्लस्टमा परेर दुवै घुँडाभन्दा माथि खुट्टा गुमाएका हुन् । त्यसपछि उनी बेलायत लगायत अन्य देशहरुमा पनि प्रेरणादायी प्रवचन दिने, साहसिक खेलमा सहभागी हुने, सामाजिक तथा व्यवसायिक कार्यहरुमा सक्रिय रहँदै आएका थिए ।
कोरोना महामारीअघि बुढामगरको सगरमाथा आरोहण गर्ने योजना रहेको थियो । तर सरकारले अपाङगता भएकाहरुका लागि आरोहण गर्न रोक लगाएका कारण उनले प्रक्रिया अघि बढाउन पाएका थिएनन् । अहिले अदालतले सरकारको उक्त निर्णयविरुद्ध परमादेश जारी गरिसकेको छ ।
गाइड बुढामगरले भने, ‘बेस क्याम्पसम्म पनि हरि बुढामगरले आफै हिडेर जानु भएको हो । उहाँले साहसिक कार्यहरु गर्दै आउनुभएको छ र स्की पनि गरिसक्नु भएको छ ।’ हरि बुढामगरले यसअघि मेरापिक, मनाङको हिमाल चुलु फर् इस्ट् (६,०५९ मिटर) दुई वटा छ हजारभन्दा माथिको हिमाल आरोहण गरिसकेका उनले जानकारी दिए । गाइड बुढामगरका अनुसार नाम्चेभन्दा माथि, स्याङभोचेबाट उनीसँग १०–१२ जना विदेशी पर्यटकको टिम पनि हुनेछ ।
दुवै गोडा गुमाएपछि हरि बुढामगरले आफ््ना सानातिना काम आफै गर्न थालेको, त्यसमा उनमा आत्मविश्वास बढ्दै गएको, विस्तारै स्कीर गर्न थालेका हुन् । उनले विदेशमा स्काइड्राइभिङ गरेपछि विस्तारै नेपालमा पनि विभिन्न ठाउँ ढोरपाटन, लाङटाङ, मुक्तिनाथ र दोलखालगायतमा स्की गरिसकेका छन् । हरि बुढामगरसँग कर्पोरेट नेपालले गरेको छोटो कुराकानीः
आज हामी फरक क्षमता चार जनाले स्काइड्राइभिङ गर्यौं । हामी चार जनामा तीन जना विदेशी छन् । क्यानडामा स्काईड्राइभिङ गरेर ४६५ माइल कायम गरेको हो । स्काइड्राइभिङ गर्नेमा पनि अपाङ्गता भएकाहरुमध्येमा हाम्रो टिम नै पहिलो बन्ने गरेको थियो । यस वर्ष चाहीं नेपालमै आएर गर्न पाएकोमा गर्व महशुस गरेको छु । त्यस्तै, क्यानडा, बेलायतमा, फ्रान्सलगायत देशहरुमा पनि कायाकिंग गरिसकेको छु ।
यस वर्ष स्काइड्राइभिङ गरें र सगरमाथा आधार शिविरसम्म पदयात्रा गरें । अब अर्को वर्ष सगरमाथाको चुचुरोसम्म पुग्ने योजना छ । लामो समय बेलायतमा बस्दै आएको छु । अहिले नेपालमा सगरमाथा आधार शिविरसम्म पदयात्रा, प्याराग्लाइडिङ र स्काइड्राइभिङ गर्ने सोचमा आएको छु ।
म त्यस्तै, ३० वर्षको उमेरको हुर्दा अपाङ्गता हुन पुगें । मेरो मुख्य उद्देश्य भनेको ‘संसारभर अपाङ्गता जागरूकता’ फैलाउनु हो । मैले मेरो १५ वर्ष समय विदेशी मूलुकलाई दिएँ । त्यही क्रममा दुवै गोडा गुमाएँ । विदेशी मूलुकलाई दिएँ । तर मैले मेरो देश नेपालको लागि के गरें ? म १९ वर्षको उमेरसम्म नेपालमै पढे्ं । गाउँ छाडेर काठमाडौं आएँ । काठमाडौं आएर देश छोडेर बेलायत गएँ । अब चाहीं नेपालमा केही गर्न चाहान्छु । रोल्पामा मैले संस्थाहरु पनि दर्ता गरेको छु । धेरै कुराहरु गरिरहेको छु । मैले आफूलाई सराप्दै रक्सी खाएर बसें । धेरै पटक मैले आत्महत्याको प्रयास गरें ।, त्यसपछि बल्ला आएर अहिले मैले मेरो जीवनलाई अर्थपूर्ण बनाएको छु ।
सरकार र आमजनतामाझ अपाङ्गता जागरूकता फैलाउने र अपाङ्गता जोकोही पनि हुन्छ, यो एउटा प्राकृतिक प्रक्रिया हो भन्ने सन्देश दिन चाँहान्छु। उनीहरुले जीवनमा अवसरहरु पाए जे पनि गर्नसक्छ भन्ने जागरूकता फैलाउन मन छ । मेरो उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्तिकरण गर्नु हो । उनीहरुलाई कुनै एउटा सीप सिकाउनु पर्यो। म नेपालमा आएर मेरो नेपाललाई मेरो तर्फबाट सक्दो सहयोग गर्न चाहान्छु।
म जीवनलाई अर्थपूर्ण बनाउँन प्रयास गर्दै छु। अरु देशहरुमा भन्दा आफ्नै देशमा स्काइड्राइभिङ गर्दा फरक र अद्भुत महशुस भयो । मेरो सोच भनेको थोरै भए पनि पैसा नेपालमा भित्राउँ भन्ने पनि हो। मैले नेपालमा खिचेका फोटो हेरेर भन्न सक्छु कि म कति खुःसी छु आफ्नै देशमा भनेर। हाम्रो देशमा आएर कति व्यक्तिहरुले विभिन्न रेकर्ड बनाउँछ । हामीले किन नबनाउने ? म आफ्नो देश नेपालबारे धेरै गर्व गर्छु ।’