उद्योग बाणिज्य महासंघ र पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सहमती

Advertisement

काठमाडौं । नेपाल उद्योग  बाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डले नेपालमा पर्यटन प्रवर्द्धन गर्न सहकार्य गर्ने सहमती गरेका छन् । सहमतीअनुसार दुवै संस्था पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने छन् । 

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बिहीबार हस्ताक्षर गरे । यसका लागि महासंघको पर्यटन विकास समितिले भूमिका निर्वाह गरेको थियो । 

Advertisement

आपसी समझदारी अनुसार पर्यटन विकासमा विभिन्नतहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने छ । 

त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, संभावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्कलगायत पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ । 

कार्यक्रममा गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन यो सहमती कोशेढुंगा हुने बताए । उनले समझदारीपत्रको अक्षरश कार्यान्वयनको प्रतिवद्धता पनि जनाए । पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको गोल्छाको भनाई छ । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अगाडि बढाउन आग्रह गरे । उनले  भारतीय र चिनियाँ पर्यटकलाई आकर्षण गर्न महासंघ र बोर्डले विशेष कार्यक्रम ल्याउनुुपर्ने बताए । 
 

Advertisement

Advertisement