अनुमतिबिनै यार्सागुम्बा संकलन गरिँदै

Advertisement

दार्चुला । दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा सङ्कलन गरिरहेका छन् ।  

हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष यहाँका सङ्कलक वैशाख दोस्रो साता नै सङ्कलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका-२ का नरेन्द्रसिह धामीले बताए । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । 

Advertisement

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमतिपत्रबिना सङ्कलन गर्न नपाइने जनाएको छ । प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले वैशाख १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमतिपत्र वितरण सुरु गरिएको बताए । 

अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय खलङ्गा, राप्ला सेक्टर कार्यालय सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, खार रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमतिपत्र वितरण भइरहेको जनाएको छ ।

सङ्कलन गर्न भने जेठ दोस्रो सातादेखि पाइने कार्यालयले जनाएको छ । संरक्षण क्षेत्रभित्रका यार्सागुम्बा सङ्कलकले प्रतिव्यक्ति रु ५००,  संरक्षण क्षेत्र बाहिरकाले रु दुई हजार र जिल्ला बाहिरकाले परिचयपत्र लिनका लागि रु तीन हजार तिनुपर्ने व्यवस्था छ । 

अनुमतिबिना सङ्कलन गरे यार्सागुम्बा जफत गरी कानुन बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ । दार्चुलाको व्यासको अपिफेद, दूधिवन, अपिहिमालको चाइमेटला, सातगङ्गा, लोलु, रोखापु, धरमघरलगायत क्षेत्रमा यार्सागुम्बा पाइन्छ । जिल्लाबाट वार्षिक ५ देखि ७ क्वीन्टलसम्म यार्सागुम्बा निकासी हुन्छ ।

मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो
यता, मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् ।  

जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको हो । एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ । यार्सागुम्बा सङ्कलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था छ ।

जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । उनीहरुलाई आयस्रोत जुटाउने र निर्वाचनमार्फत प्रतिनिधि चयन गर्नुपर्ने दोहोरो चटारो छ । यार्सागुम्बा सङ्कलन गर्न मनाङवासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गरेका छन् । जडीबुटी सङ्कलनको समय भएकाले यहाँको सुरक्षाका लागि चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । “यार्सागुम्बा सङ्कलन क्षेत्रमा सुरक्षाकर्मी पुग्नुपर्ने हुन्छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउन जुटेका छौंँ,” उनले भने ।  

नाम्केखर्क, नारफु, माथिल्लो मनाङको खाङ्सार खर्कदलगायत क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरिँदै आएको एक्याप इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । असार अन्तिम हप्तासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ । मनाङवासीलाई नागरिकता वा बसाइँसराइको प्रमाणपत्रका आधारामा यार्सागुम्बा सङ्कलनको पूर्जी दिइन्छ । 

यार्सागुम्बा सङ्कलनको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिइने गौतमले बताउनुभयो । मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ ।  

दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद बिक्री हुन नसक्दा जिल्लाको राजस्व घटेको थियो । यसवर्ष जडीबुटी सङ्कलन भइरहेकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । रासस

Advertisement

Advertisement