मधु अधिकारीले त्यागे राप्रपा, हेटौंडाको चुनावमा कस्तो प्रभाव पर्ला ?

Advertisement

हेटौंंडा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका पूराना नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । आज शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टी स्थापना कालदेखि ३२ वर्ष राप्रपामा लागिपरेका नेता अधिकारीले पार्टीमा अपमानित,अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन् ।

राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिती सदस्य, पार्टी बागमती प्रदेशको उपाध्यक्षको भूमिकामा रहेका नेता अधिकारीले पार्टी मकवानपुर जिल्ला सभापतिको भूमिका निर्वाह गरेका थिए । निर्वाचित वडाअध्यक्षदेखि हेटौंडा नगरपालिकाको मेयरसम्म भई आफ्नो दायित्व निर्वाह गरेका अधिकारी पछिल्लो समय राप्रपालाई एकताबद्द बनाउने अभियानमा समेत सक्रिय रहेका थिए ।

Advertisement

अधिकारीले राप्रपालाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गर्न तल्लो तहमा नै बसेर अनवरत रुपमा रगत पसिना बगाइरहेँको, सकेको बल, बुद्धि, श्रम, सीप लगाउँदै आफ्नो क्षमता अनुसार सकेको आर्थिक लगानी पनि गरेको, सिद्धान्तलाई केन्द्रमा राखेर अघि बढेको तर पनि पार्टीमा मूल्याङ्कन नभएको गुनासो गरेका छन् ।

नेता अधिकारीले कठिन, असहज र चुनौतीपूर्ण अवस्थामा पनि पार्टीलाई स्थापित गर्न लागिपरेको भन्दै विज्ञप्तिमा लेखेका छन्, ‘पार्टीमा विभिन्न उतारचढाव आयो, संघर्ष र कठिन दिनहरू पार गरेँ । यो बीचमा पार्टी शून्य अवस्थामा पुग्यो । यस्तो कठिन, असहज र चुनौतीपूर्ण अवस्थामा पनि पार्टीलाई स्थापित गर्न सकिन्छ कि भन्ने आत्मविश्वासका साथ अघि बढेँ । पार्टीलाई सकेको योगदान दिने कुरामा जहिल्यै अग्रसर भइरहेँ । पार्टीलाई विधि र पद्दतिमा अगाडि बढाउन प्रयास गरिरहे । वास्तवमा मेरो तीनदशक लामो राजनीतिक यात्रामा मैले कमाएको सम्पत्ति भनेको इमान्दारिता, नैतिकता र जनताको स्नेह नै हो ।’

अधिकारीले आफ्नो राजनीतिक जीवनभर निष्ठाको राजनीति गरेर कुनै लाभको पदमा बसेर फाइदा नलिएको बरू सधैं कठिन परिस्थितिमा दुःख कष्ट गरेको बताएका छन् । तर पार्टीभित्र ‘काम गर्ने कालू, मकै खाने भालु’ प्रवृत्ति मौलाएकाले आफू पार्टीबाट अलट हुनु परेको उनको भनाई छ । पछिल्लो समय अनुकुलताको राजनीति, मौसमी राजनीति, सामन्ती र सर्बसत्तावादी चिन्तन अनि प्रवृत्ति हाबी भएको र त्यही प्रवृत्तिसँग केन्द्रीय नेतृत्व नतमस्तक भएको भन्दै अधिकारीले नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शीर्ष नेताको निर्णय अदूरदर्शी, अपरिपक्व र अन्यायपूर्ण देखिएको निश्कर्ष निकालेका छन् । ‘नेतृत्वले गर्ने मूल्य, मान्यता र आदर्शको कुरा ढोङ सिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ गर्यो । कुनै कार्यकर्ताको मेहनत र लगनको मूल्यांकन त परै जाओस्,उल्टै हुर्मत लिने र तेजोबध गर्ने काममा नेतृत्व तह हतियारका रुपमा प्रयोग भयो । कसले दुःख गरेको छ, कसले मेहनत गरेको छ, हेक्का राख्न नसक्ने लाचार, निरीह नेतृत्वसँग बसेर एउटा स्वाभिमानी व्यक्तिले कसरी काम गर्न सक्छ ?’ नेता अधिकारीको प्रश्न छ ।

राप्रपाभित्र योगदान दिने व्यक्तिको मूल्यांकन नहुने र पछिल्लो समयमा कहिँकतै भूमिका निर्वाह नगरेको व्यक्तिले मौका पाउने परिपाटी अस्वीकार्य भएको अधिकारीको ठम्याई छ । सधैँ कठिन घडीमा पार्टीलाइ थाम्ने काम गरेको तर सहज र अनुकूल वातावरणमा एउटै व्यक्तिले मात्र अवसर पाउने प्रवृत्ति पार्टीमा हावी भएको अधिकारीले विज्ञप्तीमा उल्लेख गरेका छन् । पछिल्लो कालखण्डमा पार्टीमा योगदान गरेर राप्रपा मकवानपुरको अस्तित्व जोगाउन सफल भएर एउटा भूमिका बनाएको व्यक्तिको मानमर्दन गरिएको भन्दै अधिकारीले आफूहरुले बनाएको जग र मेहेनतको अवमूल्यन भएको पनि ठहर गरेका छन् ।

उनले भनेका छन्,‘अराजक र अवसरवादीहरूले भोलि पार्टीलाई नै आफनो स्वार्थपूर्तिको लागि जे पनि गर्न सक्ने सम्भावना टड्कारो छ । पार्टी नेतृत्व पनि त्यसमा संलग्न भएको देखिन्छ । यसले एउटा स्वाभिमानी राजनीतिक व्यक्तिको निष्ठा र आत्मसम्मान माथि गम्भीर प्रश्न उठाएको छ । अपमानित,अपहेलित भएर स्वाभिमानमाथि प्रश्न उठिसकेको अवस्थामा पनि अन्यायविरुद्ध बिद्रोह नगरी निरीह भई त्यसकै साक्षी बस्न यो आत्माले स्वीकृत दिएन । अन्यायविरुद्ध सतिसाल बनेर खडा हुने निष्कर्षमा पुगेको छु ।’

नेता अधिकारीले आफ्नो निर्णय सही या गलत भन्ने निक्र्यौल भविष्यलाई छाडेको बताउँदै यसलाई अवसर नपाउदाको पीडा वा रोदनको रुपमा मात्रै नबुझ्न आग्रह पनि गरेका छन् । आफू राप्रपाको विचार बोकेका कारण तिरस्कृत भएको अपहेलित भएको मात्र नभई मृत्युसँग नजिकै पुगेको कारुणिक दृश्य सम्झिँदा भावुक हुने गरेको भन्दै उनले भावी दिनमा राप्रपा सम्बद्ध कोहीसँग पनि गुनासो नरहने बताएका छन् ।

‘पार्टीमा काम गर्ने क्रममा धेरै साथीहरुसँग नजिक भएँ । माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथीहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसँग कुनै मूल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।’ नेता अधिकारीले भनेका छन् । उनले राप्रपाबाट अलग भएरर हाल स्वतन्त्र रहेको जनाएका छन् ।
 

Advertisement

Advertisement