निर्वाचनको दिन सवारीसाधन नचलाउन आग्रह, मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

Advertisement

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो ।

Advertisement

स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन आग्रहसमेत गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना विपरीतका कार्य तोकिएको समयमा गरे÷गराइएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने बताएको छ । 

मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सप्तरीमा मङ्गलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गरी मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थमा रोक लगाइएको जनाएको छ । वैशाख ३० गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ बिक्री वितरण तथा तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए । निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को परिच्छेद ६ (थ) बमोजिम यस्तो निर्णय गरिएको उनले बताए ।  

मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको बताउनुहुँदै प्रजिअ गौतमले निर्णयविपरीत कसैले काम गरेको पाइएमा नियमअनुसार कारबाही हुने चेतावनी दिए । यो निर्णयअघि मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला अधिकारी गौतमसहितको उपस्थितिमा राजविराजमा सर्वदलीय बैठक सम्पन्न भएको थियो ।

जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावना भएकाले जिल्लामा मदिरा सेवन तथा बिक्री वितरणमा पूर्णप्रतिबन्ध लगाइएको हो । जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिराको भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरिएको छ । अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहिता पालना गर्न पनि बैठकमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई सचेत बनाइएको छ । 

Advertisement

Advertisement