चुनावको प्रचार प्रसारमा आचार संहिता उल्लंघनमा सुधार भएनः इओसी नेपाल

Advertisement

काठमाडौँ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले चुनावको प्रचार प्रसारका शिलशिलामा आचार संहिता उल्लंघनमा सुधार नभएको जनाएको छ । 

समितिले आज विज्ञप्ति प्रकाशित गर्दै उक्त कुरा उल्लेख गरेको हो । विज्ञप्तिमा ‘बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानियतह निर्वाचनको तयारी लगभग पूरा भएको अवस्था छ । यस निर्वाचन पर्यवेक्षण समिति नेपाल ९इओसी नेपाल० ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको छ ।’– उल्लेख छ । 

Advertisement

विज्ञप्तिमा अगाडि लेखिएको छ–‘हालसम्मको जानकारी अनुसार विगतको तुलनामा तडकभडक र आचारसंहिता उल्लंंघनमा कमि देखिएतापनि, उम्मेदवारहरुले प्रचार प्रसारमा नयाँ नयाँ विधि प्रक्रियाहरु अपनाइएको पाइएको छ, जस्ले निर्वाचन अभियानमा हुने खर्च विगतको तुलनामा धेरै नै बढ्ने सहजै अनुमान लगाउन सकिन्छ । निर्वाचन अभियानका क्रममा ध्वजा पताका, ब्यानरहरुको कमि देखिएतापनि आचारसंहिता बिपरित धेरै गाडिहरु, कतैकतै विदेशि नम्बर प्लेटका गाडिहरु, अबेर रातिसम्म आम नागरिकलाई बाधा पुग्नेगरी माइकिङ, सांगीतिक कार्यक्रमहरुको बढोत्तरी भएको पाइएको छ । यस पटकको निर्वाचनमा आचार संहिता उल्लघंनका घटनाहरु शहरी क्षेत्रमा भन्दा ग्रामीणक्षेत्रमा वढी भएका सूचनाहरु प्राप्त भएका छन् । मानिसहरु अस्पताल नै भर्ना हुनुपर्ने प्रकृतिका हिंसात्मक घटनाका जानकारी प्राप्त भएका छन्,  जसका कारण सुरक्षा व्यवस्थामा अझै कडाई गर्नु पर्ने आवश्यकता देखिन्छ ।’

आचार संहिता उल्लंघन सम्बन्धिका उजुरीउपर निर्वाचन आयोगद्धारा ध्यानाकर्षण गराउने र स्पष्टिकरण सम्म सोध्ने कामहरु भएको उल्लेख छ । वैशाख २७ गते रातिदेखि मौन अवधि सुरु हुन गइरहेको छ । मौन अवधिमा धेरै किसिमका घटनाहरु घटेका विगतका निर्वाचनहरुको अनुभव हामीलाई छ र यो अवस्थामा निर्वाचनलाई भयरहित, स्वतन्त्र र  पारदर्शी ढङ्गबाट सम्पन्न गर्ने र निर्वाचनमा आम नागरिकहरूको सहभागितालाई सुनिश्चित गर्ने दायित्व सबैको हो । 

विशेषगरी राजनीतिक दल उम्मेदवार, उम्मदेवारका कार्यकर्ताहरु र निर्वाचन आयोगले यसतर्फ विशेष ध्यान दिनुपर्ने हुन्छ । निर्वाचनमा सुरक्षा निकायको मजबुती उपस्थितिले जनताको मनोबललाई उच्च पार्दछ र जनताले आफूलाई सुरक्षित महसुस गर्दछन र सुरक्षित महसुस भएको अवस्थामा मतदान केन्द्रमा मतदाताको वाक्लो उपस्थितिथिको सुनिश्चितता हुन्छ । निर्वाचन लोकतन्त्रको मेरुदण्ड र लोकतन्त्रको संस्थागत विकास र स्थायित्व प्रदान गर्ने एउटा औजार हो । 

‘निर्वाचन जति स्वतन्त्र निष्पक्ष पारदर्शी र भएरहित हुन्छ त्यतिनै लोकतन्त्रको विकासमा सघाउ पूग्छ । साथै, लोकतान्त्रिक संस्कृतिको निर्माणमा समेत सघाउ पुग्दछ भन्ने हाम्रो निश्कर्ष रहेको छ । यसतर्फ सबै राजनीतिक दल, सबै उम्मेदवार, सबै संघसंस्थाहरु सञ्चारजगत र विशेष गरी निर्वाचन आयोगले विशेष पहल गर्नेछ भन्ने कुरामा हामी विश्वास गर्दछौँ । हाम्रो अभियान लोकतन्त्रको सुदृढिकरणमा निरन्तर जारी नै छ ।’ समितिले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।  

Advertisement

Advertisement