आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपाल ४ विकेटले विजयी

Advertisement

काठमाडौं । आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एशिया क्षेत्रको छनोटका लागि मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले सोमवार भुटानविरुद्ध जित निकालेको छ ।

किनरारा ओभल मैदानमा नेपालले भुटानलाई ४ विकेटले पराजित गर्दैै जारी छनोट प्रतियोगितामा दोस्रो जित निकालेको हो । यससँगै नेपालको तीन खेलबाट चार अंक भएको छ । नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ ।

Advertisement

आफ्नो दोस्रो खेलमा युएईसँग लज्जास्पद हार व्यहोरेको नेपालले सोमवार भुटानबिरुद्ध जित निकाल्दा अघिल्लो चरण पुग्ने सम्भावन कायमै छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा सानु राजवंशीले अविजित सर्वाधिक ३० रनको पारी खेल्दा साना प्रविनले १२ रन, आश्मा पुलामी मगरले ३ तथा किरण कुँवरले २ रनको योगदान गरे । यस्तै सृष्टि जैसीले ८ रन  कप्तान कृतिका मरासिनी २ तथा स्नेहा महरा शुन्यमा पवेलियन फर्किए भने एलिशाकुमारी यादव २ रनमा अविजित रहिन् । 

बलिङतर्फ भुटानका सांगे वाङ्मोले ३ तथा अञ्जुली घली र सोनमले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाउँदा पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडे । 

भुटानको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषाकुमारी उपाध्यायले २–२ विकेट लिए । यससँगै भुटानले जारी प्रतियोगितामा लगातार दोस्रो हार भोगेको छ । अंक विहीन भुटान तालिकाको पुछारमा छ । पहिलो खेलमा कतरालाई ७९ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने युएईसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतारले प्रतिष्पर्धा गरिरहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने प्रतियोगितामा स्थान बनाउनेछ । अब नेपालले मंगलवार थाइल्याण्ड र बिहीवार मलेसियाबिरुद्ध खेल्नेछ ।

Advertisement

Advertisement