मन्त्री र पैसाको लोभ छैन, अहिलेपनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएः श्रेष्ठ

Advertisement

काठमाडौँ । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीपदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताएका छन् । 

आज बिहान मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको जिकिर गरे । मन्त्री श्रेष्ठले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे । 

Advertisement

आफू अहिलेपनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको बताए । ८ महिना २१ दिन मन्त्री भएर आफूले गरेका कामहरु सगौरव प्रश्तुत गर्न पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको बताए । 

उनले भने, ‘नचाहिने हल्लाहरु फिँजाइएका छन् । कुर्सीमा टाँसिरहनका लागि कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे मन्त्रीहरु भनेर पनि आक्षेप आएको छ । हामी मन्त्रीहरुको भनाइ के हो भन्दा लोकतान्त्रिक पद्दतिमा हामीले बजेट पेस गसिकेपछि बजेटको माननीयहरुले सोध्ने प्रश्नको उत्तर पनि दिन पाउँ भन्नेमात्रै हाम्रो कुरा हो । यहाँ त लौ टाँसिनलाई पार्टी छोड्छ रे, मन्त्री छोड्नै लागेको छैन रे, प्रधानमन्त्रीलाई प्रेसर रे, यो केही होइन । मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर म आएको छु । मन्त्रीपदमा टाँसिरहनु, मन्त्री भएर पैसा कमाउनु, त्यस्तो मेरो लोभ लालच छैन । ८ महिना २१ दिन बसेर आफूले गरेका कामहरु सगौरव भन्न पाइयो यही ठूलो कुरा हो ।’

निवर्तमान श्रममन्त्री श्रेष्ठले प्रतिनिधि सभा र राष्ट्रिय सभामा मन्त्रीले बोलिसकेपछि क्रस क्वेशन गर्ने र असन्तुष्टि जाहेर गर्ने कुरा आफूमा लागू नभएकोले पनि सबै काम राम्रो गरेको प्रमाणित भएको दाबी गरे । उनले पार्टीकै अर्का मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा आफूलाई नै नम्बर दिएकोप्रति लक्षित गर्दै आफूले गरेको कामको नम्बर जनताले दिने बताए । 

Advertisement

Advertisement