काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा धेरै लिने र घरेलु तथा साना उद्यम क्षेत्रले नपाउने विषयमा राष्ट्र बैंकले सम्बोधन गर्दै आएको बताएका छन् । आज(सोमबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा अत्याधिक लिँदा अर्थतन्त्रमा जोखिम बढेको बताएका छन् । बैंक, इन्स्योरेन्स, धितोपत्र र अन्य व्यवसायमा एउटै व्यवसायिक घराना सहभागिता रहेकोले सीमित समूहले मात्रै कर्जा लिँदा अर्थतन्त्रमा जोखिम निम्तिने भन्दै उनले भने, ‘विगतदेखि नै व्यवसायी र बैंकर्स छुट्याउने प्रयास भएपनि सफल भएको छैन । व्यापारमा सबै कर्जा निश्चित व्यवसायीहरुले लिँदा भविष्यमा अर्थतन्त्रमा एकखालको जोखिम निम्त्याउँछ । राष्ट्र बैंकले विगतदेखि बैंकर्स र व्यवसायी छुट्याउने काम गरेको तर विविध कारणले हुन सकेको छैन । अब हामीले कुनै एउटा व्यवसायिक घराना डुब्दैमा अर्थतन्त्रलाई असर नपर्ने स्थिति सिर्जना गर्नुपर्छ । अर्थतन्त्रको फाइदा सबैले पाउनुपर्छ । शेयर बजारमा लगाएको ४/१२ करोडको सीमाको विषयमा बोल्दिन किनकी यसको नियामक अरु नै हुनुहुन्छ ।’
गभर्नर अधिकारीले विश्वका अधिकांश केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति ल्याएकाले नेपालले पनि त्यसतर्फ ध्यान दिने बताएका छन् । उनले चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशतभित्र मुद्रास्फीति राख्ने लक्ष्य लिएको भएपनि अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यवृद्धि अत्याधिक रुपमा बढेकाले लक्ष्यभन्दा बाहिर जाने अवस्था रहेको जनाएका छन् ।
उनले यो वर्ष ठूलो रकम आयातमा खर्च हुँदा १० महिनाको अवधिमा २.४७ अर्ब डलर कमी आएको बताए । वाह्य क्षेत्र चापको कारणले मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै गभर्नर अधिकारीले हाल ९.२८ अर्बको विदेशी मुद्रा सञ्चिति रहेको र त्यसले साढे ६ महिनाको वस्तु तथा सेवा दुवै धान्न सक्ने अवस्था रहेको स्पष्ट पारे । उनले वैदेशिक अनुदानमा कमी, आयातमा वृद्धि र रेमिट्यान्समा ठोस सुधार नभएको कारण शोधनान्तर चापमा परेको बताएका छन् ।