Advertisement

काठमाडौं । नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ । 

महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटम अनुसार संरचना नभत्काउने भएको हो । अतिक्रमित जग्गामा बनाइएका संरचना भत्काउँदा अक्सिजन आपूर्ति पनि बन्द भई बिरामीको मृत्यु हुने भन्दै अस्पतालका अधिकारीहरुले मानवीय संवेदनशीलता देखाएपछि मेयर बालेन शाहसहितको महानगरको टोली हच्किएको हो । 

Advertisement

सोमबारको अल्टिमेटमअनुसार सरकारी जग्गामा अतिक्रमण गरी बनाइएको संरचना भत्काउन महानगरका प्रहरीसहित मेयर बाहेन शाह नर्भिक अस्पताल पुगेका थिए । उक्त अस्पताल व्यवसायी वसन्त चौधरीको हो ।  

मंगलवार शाहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशन अनुसार अगाडी बढ्ने सहमति गरेका छन् । उनले प्राविधिकहरुले दिएको सुझाव अनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताइएको छ । 

बालेन शाहले नियम सबैलाई बराबर हुनुपर्ने बताउँदै सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताए । उनले आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताए । 

शाहले अस्पताललाई मन्त्रिपरिषद्ले निर्णय गरेर जग्गा लिजमा दिए महानगरलाई केही फरक नपर्ने तर मन्त्रिपरिषद्ले जग्गा अस्पताललाई दिनुपर्ने बताए । 

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारी निकायसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको दावी गरे । उनले अझै अस्पतालसँग सम्झौता अनुसार ८ वर्ष बाँकी रहेको बताउँदै उनले महानगर र अस्पतालको प्राविधिकहरुको समितिले दिएको सुझाव अनुसार अगाडि बढ्ने बताए । 

Advertisement

Advertisement