‘मेयरज्यू ! तपाईं असफल हुनु भएन’

Advertisement

शारदाप्रसाद त्रिताल
१.  तपाईंलाई काठमाडौंका जनताले त्यसै मेयरमा जिताएका होइनन् । यो विषयमा ख्याल गर्नुहुने नै छ ।

२. काठमाडौं एउटा महानगरपालिका मात्र होइन, देशको राजधानी शहर पनि हो । यसका आफ्नै किसिमका ऐतिहासिक र सांस्कृतिक मूल्य मान्यता पनि छन् । यिनको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाईंको काँधमा आएको छ ।

Advertisement

३. राजनीति ‘जनताको लागि’ गरिनुपर्नेमा विगत केही दशकदेखि नेताहरुबाट ‘जनताउपर’ राजनीति गरिएको कारणले लामो समयदेखि हर्ताकर्ता भएका ठूला पार्टीका नेताहरुप्रति जनता निराश भएको अवस्था छ ।

४. तपाईंको चुनाव घोषणापत्रमा उल्लेख भएअनुसार पनि फोहोरको व्यवस्थापन प्राथमिकतामा परेको देखिन्छ । तर यति लामो समयसम्म पनि यसमा प्रगतिका खास लक्षणहरु देखिन नपाएको कारण तपाइँप्रति जनता निराश हुन थालेको देखिन्छ । जनताको स्वास्थ्य र देशको प्रतिष्ठासँग समेत जोडिएको फोहोर व्यवस्थापनको विषयप्रति मेयरज्यू पक्कै पनि सम्वेदनशिल हुनु नै हुन्छ होला ।

५. फोहोर व्यवस्थापनमा विगतदेखि नै दलगत राजनीतिक खिचातानी हुँदै आएको हो । अहिले पनि त्यो भइरहेको देखिन्छ । त्यसैले मेयरज्यूले सम्वेदनशिल भएर काम गरी यो समस्याको शीघ्र समाधान खोज्नु पर्यो । यसका लागि–

(क) विज्ञहरुसँग निरन्तर छलफल गर्नुपर्यो र कुन स्तरमा छलफल भइरहेकोछ त्यसको जानकारी नियमित रुपमा जनतालाई गराइरहनु पर्यो ।

(ख) पार्टीका प्रतिनिधिहरुसँग पनि नियमित छलफलमा रहनुपर्यो र यसबारे पनि जनतालाई जानकारी गराउनु पर्यो ताकि जनताले के भइरहेको छ भन्ने थाहा पाउन सकियोस् ।

(ग) फोहोर फालिने क्षेत्रका जनतासँग पनि निरन्तर छलफलमा रहनुपर्यो । पुरा गर्न सक्ने माग पुरा गर्नु पर्यो र गर्न नसकिने माग गर्न सकिंदैन भन्नुपर्यो । यसको जानकारी पनि जनतालाई दिइरहनु पर्यो ।

(घ) छिमेकी नगरपालिकाहरुसँग पनि छलफल र सहयोग आदानप्रदान गर्नु पर्यो ।

(ङ) विज्ञहरुको सहयोग समेतका आधारमा संघीय सरकारसँगको समन्वयमा फोहोर व्यवस्थापनको अल्पकालिन‚ मध्यकालिन र दीर्घकालिन योजना र त्यसको कार्यान्वयन खाका बनाई सार्वजनिक गर्नुपर्यो । अनि सोही कार्ययोजना अनुरुप काम गरी प्रगति सार्वजनिक गर्ने परिपाटी बसाल्नु पर्यो ।

६.  राजधानी शहरको मेयरले संयमता र सुझबुझ पनि देखाउन सक्नु पर्यो । अदालतले दिएका आदेशउपर सार्वजनिक प्रतिक्रिया दिनुभन्दा कानुनबमोजिमको सबूद प्रमाणसहित प्रक्रियामा जाने गर्नुपर्यो । अदालतले गरेका फैसला र आदेशउपर तल्लोस्तरको प्रतिक्रिया दिनका लागि देशका कम्युनिष्ट हौं भन्ने नेताहरु पर्याप्त छन् । त्यस्ता विषयमा प्रतिस्पर्धा गर्न थाल्नु भयो भने तपाईंको असफलता निश्चित छ ।

७. तपाईंसँग हामी जनताले ठूलो आशा र भरोसा गरेका छौं । हामी तपाईंबाट राम्रा काम कुराको मात्र आशा गर्छौं । हाम्रो आशा र भरोसामा तुषारापात हुने छैन् भन्ने विश्वास छ ।

नेपाल सरकारका पूर्वसचिव त्रितालको फेसबुकबाट साभार

Advertisement

Advertisement