काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा विश्वका १४ सर्वोच्च शिखरहरु दोहोर्याएर आरोहण गर्ने पहिलो व्यक्ति भएका छन्् । यससँगै उनले अर्को विश्व कीर्तिमान पनि कायम गर्न सफल भएका छन् ।
शनिबार नेपाल फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । नेपाल पर्वतारोहण संघ, माउन्टेन गाइड एशोसिएशन अफ नेपाल (मोगान), सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डसम्वद्ध व्यक्ति, पर्वतारोही र पर्यटन व्यवसायीहरुले उनको स्वागत गरेका थिए । उनै कीर्तिमानी आरोही शेर्पासँग कपोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीः
दोहोर्याएर विश्वका १४ सर्वोच्च शिखरहरुको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेकोमा कस्तो महशुस भएको छ ?
मलाई खुसी पनि लागेको छ र दुखी पनि छु । हामी आरोहीहरुले जति नाम कमाइ पनि के गर्ने ? हाम्रो राज्यले केही पनि गर्ने होइन् । केही सुविधा दिएको छ्रैन्् । अरु देशमा हो भन्ने बालबालिकाहरुलाई पढाउन सहयोग गर्छ । पाकिस्तान जस्तो देशको कुरा गर्नुपर्दा सरकारले सहयोग गरेको हाम्रो आखाँले देखेको छ । यहाँको सरकारले केही पनि गरेको छैन् अहिलेसम्म ।
आरोहीहरु हितको लागि सरकारले के गरोस् जस्तो लाग्छ ?
मेरो कुरा गर्नु पर्दा मलाई खासै लोभ लाग्दैन् । पैसा, सम्पत्ति केही लोभ लाग्दैन् । तर, सरकारले हिमाल आरोहीहरुलाई केही सहयोग गर्दिए राम्रो हुने थियो नाम त कामयो । विश्वले चिन्छ । तर सरकारले सक्दो सहयोग नगर्दा हामी आरोहीहरुलाई दुःख लाग्छ ।
यति धेरै हिमालहरुको आरोहण गरी रहँदा सबैभन्दा गाह्रो भएको कुनै अनुभव छ ?
दक्षिणी मोहोडाको सिसापाङको आरोहण अलि गाह्रो महशुस भएको थियो । तर मैले दुई पटक नै सिसापाङको दक्षिणी मोहोडाबाटै आरोहण गरे । म खेती किसान गर्ने मान्छे । सहरमा आएर भारी बोक्नेदेखि लिएर माथिसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छु । अहिलेसम्म मैले काम गरेको क्लाइन्टहरुबाट एउटा पनि गुनासो आएको छैन् । मैले ४९ एक्स्पडिशनहरु, उद्दारहरुलगायत गरिसके । मैले ३७ पटक हिमालहरु आरोहण गरिसकेको छु । मेरो यो कीर्तिमानी म एक जनाको लागि मात्र होइन । हामी सबै नेपालीहरुको लागि हो । दोहोर्याएर विश्वका १४ सर्वोच्च शिखरहरुको सफल आरोहण गर्ने कहाँको हो ? भन्दा मेरो मात्र नाम ओउँदैन्, सिंगो नेपालको आउँछ ।
गाउँदेखि शहरको यात्रा
किसानबाट अहिले विश्व कीर्तिमानी बन्न सफल सानु शेर्पाले १६ वर्षअघि खेती किसानी गरेका पूराना दिनहरू सम्झदै भने, ‘म एक राम्रो किसान थिए तर मैले केही कमाउन गाउँ छोडेर काठमाडौं आएको हो । वञ्चु शेर्पा दाईको सहयोग मिल्यो र मलाई उहाँको धेरै माया लाग्छ ।’ संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४८ वर्षीय सानु शेर्पाले गाउँमै बसेर गाइभैंसी पाल्नेलगायतका काम गर्दै आएका थिए । ट्रेकिङ क्षेत्रमा लाग्नुअघि उनको मकालु हिमालतिर ट्रेकिङ, एक्स्पडिशन गर्न विदेशीहरु आउने गर्थे । सिर्जनमा एक–दुई चोटी शेर्पा भारी बोक्न जाने गर्थे । त्यसबाट आएको पैसाले मासु, घीउ, खुर्सानी किनेर खान ठिक्क हुन्थ्यो ।
सानु शेर्पाको १७ वर्षमै विवाह भएको थियो । त्यसपछि छोराछोरी पनि भए । यसरी नै भारी बोकेर, खेती किसानी गरेर खासै कमाउन नसकिने जस्तो लागेपछि उनले श्रीमतीलाई शहरतिर जान्छु र केही न केही गर्छु होला भनेर निस्किए । गाउँमा आफूसँगैका साथीभाई विदेशी गएर राम्रो कपडा लगाएको देख्दा र आफू खाली खुट्टा, हाफ पाइन्ट लगाएर हिड्नु पर्दा उनको मनमा खिन्नता आयो । ‘अहिले उमेर पनि छ । मैले केही गर्न सक्छु शहरमा गएर, प्रयास गर्छु भन्ने सोचले काठमाडौंसम्म आए’ शेर्पाले थपे, ‘त्यति बेला मसँग शहर आउने पैसा पनि थिएन । पाँच सय रुपियाँ जति पैसा थियो होला । त्यो पैसाले पनि पुग्दैथ्यो काठमाडौं आउन ।’
आफूहरुसँग भएको करिव पाँच सय रुपियाँ लिएर शहर जाँदा गाँउमा श्रीमती र छोराछोरीले के खाने ? भन्ने चिन्ता सानु शेर्पालाई भयो । गाउँमै रहेकी बुढी आमासँग उनले एक हजार रुपियाँ सापटी मागेर शहर निस्किए । घरबाट निस्किबेला खुट्टामा चपल पनि थिएन । करिव १७ बर्षअघि खाली खुट्टा नै सदरमुकामसम्म हिंडेर आएका सानु शेर्पाले अरुलाई दुई दिन लाग्ने दूरी आफूले एक दिनमै पार गरेको कहिल्यै बिर्सिन सक्दैनन् ।
काठमाडौं आइसकेपछि पनि दुई–तीन दिन त्यत्तिकै बरालिए । त्यसपछि एक जना ट्रेकिङ कम्पनीको दाई वाञ्चु शेर्पा भेट भए । उनको कम्पनीमा कोरियन पर्यटक धेरै थिए त्यो बेला । वाञ्चुले सानु शेर्पा ट्रेकिङमा जान सल्लाह दिए । आफू पहाडबाट निस्केको मान्छे, शहरमा जे पनि गर्छु भनेर आएको मान्छे, तर ट्रेकिङमा भारी बोक्ने काम पाए पछि उनले नाई भन्न सकेनन् । वाञ्चुकै कम्पनीबाट उनले करिव १० वटा ट्रेकिङ गरे ।
उनले त्यो बेलाको स्मरण गर्दै भने, ‘आइलाण्ड पिकको लागि वाञ्चु दाईको कम्पनीबाट ठूलो टिम रहेछ । दाईले मलाई त्यस टिमसँगै किचन ब्वाईको काममा पठाउनुभयो । कोरियनहरुसँग म पनि गए । उनीहरुले आरोहण गर्ने बेला प्रयोग गर्ने सामान बोकिदिनु पर्ने थियो । मैले बोकें ।’
त्यसरी जाँदा कोरियनहरु आरोहणका क्रममा क्याम्पबाटै टाउको दुख्यो भनेर आधा बाटोबाट फर्किन थाले । सानु शेर्पाले ठूलो डोकोमा १९ जना कोरियनको जुत्ता र आरोहण गर्दा लगाउने सामान बोकेका थिए । त्यो भारी करिव ५० किलोको थियो ।
कोरियनहरु फर्किन थालेपछि सानु शेर्पाको मनमा फर्किने भए किन जुत्ता बोकाएको होला ? भन्ने लाग्यो । बाँकी कोरियनहरुसँग उनी पनि आइल्याण्ड पिक चढे । ‘यो मेरो पहिलो हिमाल आरोहण थियो, पहिला म यसरी चढेको थिएन्’, उनले भने ।
आइल्याण्ड पिकको ट्रेकिङ सकेर काठमाडौं आएपछि वाञ्चुले ‘तिम्रो राहदानी छ ?’ भनेर सोधे । राहदानी छैन्, चाहियो भने बनाउन सक्छु भनेपछि छिटो बनाउन सुझाव दिए । सानुले भने, ‘वाञ्चु दाइले मलाई चो ओयु हिमाल आरोहणका लागि लागि पठाउन खोज्नु भएको रैछ ।’ त्यतिबेला चो ओयु चीनतर्फको मोहोडाबाट मात्रै चढ्ने चलन थियो । नेपालबाट चढ्ने प्रयास निकै पटक भए पनि अहिलेसम्म सफल हुन सकेको छैन् ।
पहिलो पटक चो ओयु चढ्न चीन जाने भनेपछि आफूलाई खुशी लागेको अनुभव सुनाउँदै सानु शेपाले भने, ‘दाईले पहिलो पटक कोरियन टिमसँग चो ओयु जानु भन्नुभयो । बल्लबल्ल पाएको काम, यो पनि गरेन भने काम पाउँदैन भनेर ‘हुन्छ’ भने ।’ गएपछि जति माथि गयो, कोरियनहरु उचाइमा खासै चढ्न नसक्ने गरेको उनले अनुभव सुनाए ।
शेर्पाले भने, ‘चो ओयु चढ्ने क्रममा कोरियनहरु बिरामी हुँदै फर्किन थाल्यो । म १४ दिनसम्म चो ओयु हिमालको क्याम्प ३ मा बसेर बेस क्याम्प फर्किएँ ।’ आफू बिहानै गएर दिउसो चो ओयु चढेर बेलुका बेस क्याम्प फर्किने सोच बनाए पनि कोरियनहरु उकालो चढ्न नसक्दा सोचेअनुसार हुन नसकेको उनको भनाई छ । शेर्पाले भने, ‘बिहानै चढ्छु । दिउसो चो ओयुको शिखर पुगेर बेलुकी बेसक्याम्प फर्किन्छु भनेर एक जना साथीलाई भनेको थिए । साथीहरुले कसरी चढ्नसक्छ ? भनेर भन थाल्यो । तर मैले सजिलो तरिकाले आरोहण पनि गरें ।’
चो ओयु हिमाल २००६ मा पहिलो पटक चढेका सानु शेर्पा २००८ मा दोस्रो पटक पनि चढ्न सफल भए । यो हिमाल आठ हजार मिटर अग्ला विश्वका हिमालमध्येको एक हो । सोही हिमालबाट उनको विश्वका १४ अग्ला शिखरहरु दोहोर्याएर चढ्ने अभियान सुरु भएको थियो ।
सन् २००६ को वसन्तमा चो ओयु हिमाल आरोहण गरेका सानु शेर्पाले सोही बर्ष सिसापाङ हिमालको पनि आरोहण गर्न सफल भए । उक्त हिमाल चढ्न उनी १९ जना कोरियनहरुको टिमसँगै गएका थिए । लेकमा बसे हुर्केका कारण हिमाल सजिलै चढ्नसक्ने उनी सन् २००६ को अक्टोवरमा तिब्बतको सिसापाङ हिमाल दक्षिणी मोहोडाबाट चढेका थिए ।
उनले भने, ‘दक्षिणी मोहोडा एकदमै प्राविधिक रुट हो । एकदमै गाह्रो । यो हिमाल आरोहण गरेपछि चाहीं मलाई प्राविधिक रुटको अनुभव भयो । कस्तो ठाउँमा कसरी डोरीहरु टाग्ने रहेछ ? भन्ने अनुभव भयो ।’
सानु शेर्पाले हिमाल आरोहण अभियानमा नौ बर्ष कोरियनहरुसँग काम गरे । अनुभव बटुले । साहस बटुले । देश र विदेशका हिमालहरु एकपछि अर्को चढ्दै गए । त्यसपछि उनले २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २०१२ मा केटु, २०१३ मा गसेरब्रुम–१, २०१४ मा कञ्चनजंगा, २०१४ ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्रुम–२, मकालु र धौलागिरीको आरोहण गरे । सन् २०१९ मा विश्वका अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका उनले सन् अहिले विश्वका १४ वटा हिमाल दोहोर्याएर आरोहण गर्ने पहिलो व्यक्ति बन्न सफल भएका छन् ।