वैदेशिक व्यापार खुम्चियो, बिलासिताका वस्तुमा कडाई गर्दा १२.९० प्रतिशत आयात घट्यो

Advertisement

काठमाडौं । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा आयात–निर्यातमा कमी आएको छ । विदेशी मुद्राको संचितिमा चाप परेसँगै आयातमा गरिएको कडाईको प्रभावित  भएपछि आयात निर्यात खुम्चिएको हो । सरकारले सवारी साधन, सुनचाँदी, महँगा रक्सी, कुरमुरेलगायतका वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको छ । 

गएको साउनमा आयात १२.९० प्रतिशतले घटेको छ । अघिल्लो  बर्ष सोही अवधिमा एक खर्ब ५० अर्ब ७३ करोड १७ लाखको आयात भएकोमा यो बर्ष एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपियाँको आयात भएको छ । यो गत वर्षको तुलनामा १९ अर्ब ४५ करोड रुपियाँले कम हो । 

Advertisement

सरकारले १५० सीसी क्षमताभन्दा बढी क्षमताका मोटरसाइकल तथा अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधन, सुनचाँदी, विदेशी ब्रान्डका महँगा रक्सी, हिरा, तीनसय डलरभन्दा माथिका स्मार्टफोन, टेलिभिजन, सबै प्रकारका खेलौना, कुरमुरे, कुरकुरे आदि वस्तुमा प्रतिबन्ध लगाएको छ । 

त्यसैगरी, निर्यात २८.६८ प्रतिशतले घटेको छ भने कूल वैदेशिक व्यापार १४.८१ प्रतिशतले खुम्चिएको छ । कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १६.२८ प्रतिशतले खुम्चिएको छ भने कूल वैदेशिक व्यापारमा आयातको हिस्सा भने २.२४ प्रतिशतले बढेको छ । 

साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपियाँको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट २० अर्ब ७६ करोड ५१ लाख रुपियाँको निर्यात भएको थियो जुन चालू आर्थिक वर्षको तुलनामा २८.६८ प्रतिशतले बढी हो । 

भारत सरकारले दक्षिण एसियाबाट हुने निर्यात रोक्ने लक्ष्यसहित कच्चा पदार्थको भन्सार दर घटाएपछि नेपालबाट हुने खाने तेललगायत केही सामानको निर्यात प्रभावित बनेको छ । 

नेपालबाट गत वर्ष साउन मा आठ अर्ब ९८ करोडको भटमास तेल निर्यात भएको थियो जुन चालू वर्षको तुलनामा ६ अर्बभन्दा बढी हो । गएको साउनमा नेपालबाट जम्मा एक अर्ब ५९ करोडको भटमास तेल निर्यात भएको छ । त्यस्तै, पाम तेलको निर्यात भने डेढ अर्ब रुपियाँले बढेर तीन अर्ब ७३ करोड रुपियाँ पुगेको छ । नेपालबाट भारततर्फ हुने सूर्यमुखी तेलको निर्यात स्थिर छ ।

नेपालको व्यापार घाटा र वैदेशिक व्यापार पनि घटेको छ । गत साउनमा नेपालको व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपियाँमा आइपुगेको छ भने गत वर्षको सोही महिनामा नेपालको व्यापार घाटा एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपियाँ थियो । 

त्यस्तै, गत वर्षको साउनमा एक खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख रहेको वैदेशिक व्यापार गत साउनमा एक खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपियाँमा आइपुगेको छ ।

Advertisement