लण्डनमा ‘मिशेलिन स्टार’ स्तरको रेष्टुरेन्ट खोल्दै सन्तोष शाह, लगानी ५९ करोडभन्दा बढी हुने

Advertisement

काठमाडौं । शेफ सन्तोष शाहले लन्डनमा आफ्नै रेस्टुरेन्ट खोल्ने भएका छन् । बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता शाह, ‘वाह अलैंची’ अभियानका ब्रान्ड एम्बासडर पनि हुन् । उनले बेलायती संसदको अगाडि अन्तर्राष्ट्रियस्तर स्तरको नेपाली रेष्टुरेन्ट खोल्न लागेका हुन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा शाहले लन्डनमा आफ्नै रेस्टुरेन्ट सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका हुन् । उनले भने, ‘हामी रेस्टुरेन्ट सञ्चालनमा ल्याउने तयारीमा लागेका छौं । लन्डनमा राम्रो ठाउँ पनि पाएका छौं । आगामी नोभेम्बरसम्म उद्घाटन गर्ने योजना छ ।’

Advertisement

शेफ शाहले बेलायतमा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्न लागेका हुन् । उनले भने, ‘एक्दम विशिष्ट नेपाली फाइन डाइनिङ रेस्टुरेन्ट बनाउन लागेको हो । हामी नेपालीले गर्वका साथ भन्न सक्छौं नेपाली फाइन डाइनिङ रेस्टुरेन्ट छ विश्वमा एउटा भनेर । विश्वमा अरु पनि छ होला यस्तो रेस्टुरेन्ट, मलाई थाहा नभएको हुनसक्छ । मैले सञ्चालनमा ल्याउन लागेको रेस्टुरेन्टले नेपाललाई दर्साओस् । नेपालकै खाना विश्वभरी प्रसिद्ध होस् । जो पनि खाना खान आउँछन्, उनीहरुले अग्रिम बुकिङ गरेर आओस् ।’ 

नेपाल आउन नसकेका र नेपालबाट फर्किएर लन्डन गएका पर्यटकहरुले आफ्नो रेस्टुरेन्टमा नेपाली खानाको स्वाद लिन सकुन भन्ने शाहको चाहना छ । उनले रेस्टुरेन्टको मेनुमा नेपालमै पाउने खानाहरु हुने बताउँदै हरेक नेपाली समुदायमा खाइने खानालाई अलि आधुनिक तरिकाले बनाइने बताए । 

शाहले भने, ‘नेपाली तरिकाले बनाउने, नेपाली खानाहरुलाई टेस्टिङ मेनुको रुपमा १७–१८ वटा मेनु बनाएर मैले सेवा दिनेछु । हामी नेपाली खानालाई अर्कै स्तरमा लैजाने प्रयासमा छौं । हाम्रो रेस्टुरेन्ट एक्दमै उच्चस्तरको हुनेछ ।’ 

उनले थपे, ‘मिशेलिन स्टार भनेको संसारमा सबैभन्दा राम्रो मध्ये एक रेस्टुरेन्ट हो । शेफअनुसार त्यो १, २, ३ स्टारको हुन्छ । हाम्रो नेपाली एउटा पनि मिशेलिन स्टार शेफ छैन् विश्वमा । एउटा पनि यस्तो रेस्टुरेन्ट छैन्् । त्यो मिशेलिन स्टार हुनुपर्यो भनेर मैले प्रयास गरेको हो । मेरो पनि सपना हो कि एक दिन म मिशेलिन स्टार शेफ बन्नेछु । मिशेलिन स्टार रेस्टुरेन्ट बनाउने । त्यही स्तरको हुन्छ रेस्टुरेन्ट हाम्रो । उच्च स्तरको । महंगो होइन् । मूल्य अलिकति उच्च हुन्छ । सेन्ट्रल लन्डनमा खोल्न लागेका छौं । त्यो भएर ।’

शेफ शाहले आफ्नो रेस्टुरेन्टको नाम पनि सोचिसकेको बताउँदै ‘यात्रा, जर्नि अफ शेफ सन्तोष शाह’ नाम रहनसक्ने बताए । यद्यपि यो नाम दर्ता हुन बाँकी रहेको बताउँदै उनले यो नाम परिवतन पनि हुनसक्ने बताए । रेस्टुरेन्ट सञ्चालनका लागि काम भने भइरहेको उनले बताए । आन्तरिक सजावटको काम भइरहेको बताउँदै शाहले चाँडै लण्डन गएर मेनु पनि बनाउने बताए । 

उनले भने, ‘रेस्टुरेन्टको भित्रको डिजाइ एक्दमै मोर्डन हुन्छ । मिश्रण हुन्छ । युरोपेली, नेपाली हुनेछ । सबैभन्दा राम्रोमध्ये एक सामानहरु रेस्टुरेन्टमा राख्दैछौं । गोअल्डन प्लेटहरु प्रयोग गर्न लागेका छौं ।’ शाहले चार मिलियन पाउण्ड (५९ करोड रुपियाँ) लगानीमा यो रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागेका हुन् । 

कसरी आयो रेस्टुरेन्ट खोल्ने योजना ?
शेफ शाहले रेस्टुरेन्ट खोल्ने आफ्नो योजना पहिलादेखि नै रहेको सुनाए । उनले भने, ‘तीन वर्ष भन्दा बढी भयो । सन्तुष्टीको ठाउँ नभेट्दा, लगानीकर्ता नभेट्दा ढिलो भइरहेको थियो । तर अहिले सबै कुराहरु मिलेर आइरहेको छ ।’ 

शाहको रेस्टुरेन्टमा लन्डनको एक जना विदेशीको पनि आधा लगानी हुनेछ । ‘मैले पहिला उहाँँकोमा काम गरेको थिए । उहाँले नै मेरो रेस्टुरेन्टमा लगानी गर्दै हुनुहुन्छ । चार मिलियनभन्दा बढी पनि लगानी लाग्नसक्छ’ उनले भने, ‘भविष्यमा भयो भनेपछि नेपालमा पनि रेस्टुरेन्ट खोल्ने सोच छ ।’ 

Advertisement

Advertisement