प्रेमबहादुर श्रेष्ठ अक्षय कोषद्वारा ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Advertisement

काठमाडौँ । पञ्चकन्या समूहद्वारा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षय कोषबाट ९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच छात्रवृत्ति प्रदान गरिएको हो । कोटिहवामा रहेको पञ्चकन्या समूहले २०७० सालमा विद्यालयमा अक्षयकोष स्थापना गरेको थियो ।

Advertisement

पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार २०७६ सालको एसईईमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरेलाई छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै २०७७ सालको एसईईमा विद्यालय प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल तथा २०७८ सालमा प्रथम हुने आशिक पन्थी, द्वितीय हुने विराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा प्रथम हुनेलाई १० हजार तथा द्वितीय र तृतीय हुनेलाई ५ हजारका साथै प्रशंसापत्र प्रदान गरिएको थियो । विद्यार्थीहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण र पञ्चकन्या समूहका उपाध्यक्ष एवं कोषका अध्यक्ष ध्रुवकुमार श्रेष्ठ लगायतले छात्रवृत्ति वितरण गरेका हुन् ।

कोरोनाका कारण अघिल्लो दुई वर्षको छात्रवृत्ति पनि यसैपटक वितरण गरिएको अक्षय कोषका सचिव तथा विद्यालयका पूर्वप्रधानाध्यापक कृष्ण प्रसाद घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खाँणले राज्यले गर्ने काम पञ्चकन्या समूहले गरेको बताए । उनले शिक्षा, धार्मिक, सामाजिक कार्यमा निरन्तर रुपमा समूह अगाडि बढेको बताए । उनले भने, ‘मानिसको जीवनमा सबैभन्दा ठूलो कुरा शिक्षा हो, शिक्षा नै विकासको हो ।’ शिक्षाको गुणस्तरलाई कसरी अगाडी बढाउने भन्नेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । नगरप्रमुख खाँणले शिक्षा क्षेत्रमा राज्यले ठूलो लगानी गरेको बताए । उनले अभिभावक, विद्यालय व्यवस्थापन समिति र सामूदायिक विद्यालयको ठूलो भूमिका रहेको बताए । उनले भने, ‘तिलोत्तमा नगर प्रमुखमा निर्वाचन भइसकेपछि सामूदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन पोषण तथा दिवा खाजामा संघीय सरकारबाट प्रदान हुँदै आएको १५ रुपैयाँमा नगरपालिकाकोतर्फबाट १० रुपैयाँ थपेर २५ रुपैयाँ गरिएको छ, यसले केही भए पनि राहत पुग्छ । ’ सीपमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको उनको भनाइ थियो ।

कोषका अध्यक्ष श्रेष्ठले उद्योगबाट नजिकको विद्यालय भएकाले पनि आफूहरुले पशुपति माविलाई विशेष प्राथमिकता दिएर सहयोग गर्दै आएको बताए । उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका काममा आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यार्थीहरुका लागि अनुशासनको पनि उत्तिकै महत्व रहेकोमा जोड दिए ।

उद्योगका महाप्रबन्धक साहुले शिक्षा क्षेत्रको विकासमा आफूहरुले साथ र सहयोग जारी राख्ने बताए । उनले विद्यार्थीहरुलाई उद्यमसित जोडिएर शिक्षालाई अगाडि बढाउनु आग्रह गरे । उनले उत्कृष्ट अंक ल्याउने उद्योगमा कार्यरत मजदूरका छोराछोरीलाई पनि सम्मान गर्दै आएको बताए ।
कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले पञ्चकन्या समूहले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद बस्यालले पञ्चकन्या समूहले अतुलनीय योगदान पुर्याएको भन्दै धन्यवाद व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराईले पञ्चकन्या समूहले विद्यालयलाई भौतिक पूर्वाधार, विभिन्न सामग्री उपलब्ध गराउँदै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताए ।

विद्यालयका पूर्व प्रधानाध्यापक तथा  पञ्चकन्या समूह प्रेम बहादुर श्रेष्ठ अक्षय कोषका सचिव कृष्ण प्रसाद घिमिरेले गरीब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न प्रेरणा प्रदान गर्ने उद्देश्यले अक्षय कोषको स्थापना गरिएको बताए । उनले उद्योगले विद्यालयमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । विद्यालयका सहायक प्रधानाध्यापक चक्रपाणी बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

Advertisement

Advertisement