मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

Advertisement

मुगु । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।  

लगातार वर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका प्रनाउ हमालले बताए ।  उनीहरुको सनाखत हुन सकेको छैन । पहिरोमा परी तीन जना अझै बेपत्ता छन् । 

Advertisement

बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ । वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले बताउनुभयो । घट्नास्थल सदरमुकामबाट तीन घण्टाको पैदल दूरीमा छ । 

पहिरो गएको सालिम गाउँमा झण्डै ३५ परिवारको बसोबास रहेको थियो । पहिरो आएपछि उनीहरु सबै सुरक्षित स्थानतर्फ लागेको प्रनाउ हमालले बताए । 

जिल्लाका धेरैजसो ठाउँमा अत्यधिक वर्षाले क्षति पुर्याएको छ । जतातततै पहिरो गएको छ । बाटोघाटो अवरुद्ध तथा निरन्तर बाढी र पहिरो आएका कारण प्रहरी उद्धारमा खटिन नसकेको हमालको भनाइ छ । 

यसैबीच उद्धार तथा राहतका लागि सुर्खेतबाट आउने भनिएको हलिकप्टर अबेर साँझसम्म गमगढी आउन नसकेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला कालिकोटमा समेत पहिरोमा परेकाहरुको उद्धार गर्न आएको हेलिकप्टर उतैबाट सुर्खेत फर्किएको बताइएको छ ।

जिल्लामा विभिन्न खोलाबाट उत्पादित बिजुली बन्द छ । पहिरोले मुहानै बगाएपछि जिल्लावासी बिजुलीविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।  जिल्लाामा टेलिफोन सेवासमेत अवरुद्ध छ । रासस

Advertisement

Advertisement