रौतहट क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच मित्रवत प्रतिष्पर्धा

Advertisement

चन्द्रपुर । रौतहट जिल्लाको क्षेत्र नम्बर ४ प्रदेश (क) का कलम छापका उम्मेदवार बालकृष्ण श्रेष्ठ घरदैलो अभियानमा व्यस्त रहेका छन् । 

चन्द्रपुर नगरपालिकाको १० वटा वडा र बृन्द्रावन नगरपालिकाको ३ वटा वडा प्रदेश (क) अन्तरगत पर्छ । यो क्षेत्रमा करीब ५९ हजार मतदाता रहेका छन् । यी १३ वडा मध्ये १० वटा वडामा नेकपा (एकीकृत समाजवादी) को अवस्था सवल रहेको चन्द्रपुर नगर अध्यक्ष बाबुराम दाहालले बताए । 

Advertisement

चुनाबी अभियान अन्तरगत चन्द्रपुरका १० वटै वडा र बृन्द्रावनका ३ वडामा तालिका बनाएर घरदैलोको कार्यक्रम तय गरिएको चुनाव प्रचारप्रसार कार्यालयका सचिव नारायण न्यौपानेले जानकारी दिए । 

मंसिर ४ गतेको तयारीको शिलशिलामा चन्द्रनिगाहपुरमा प्रचारप्रसार कार्यालय स्थापना, क्षेत्रका अगुवा कार्यकर्ताको भेला÷प्रशिक्षण, अनेमसंघ र युवाविधार्थीहरुको भेला, वडा र टोलटोलमा निर्वाचन परिचालन कमिटी गठन गर्ने कार्य भइरहेको नेकपा एकीकृत समाजवादीका नेता कृष्णबहादुर खड्काले बताए । 

आफू युवा भएको, क्षेत्रको विकास र समृद्धिको लागि स्पष्ट योजना तथा कार्ययोजना भएको, पहिलो पटक उम्मेदवार भएको र आफू विगत लामो समयदेखि स्थानीय जनताहरुको सुखदुःखमा सधैंसँगै रहेकोले जनताहरुको मत प्राप्त गरी विजयी हुनेमा कलम छापका प्रदेश सभा सदस्य उम्मेदवार श्रेष्ठले विश्वास व्यक्त गरे । 

उम्मेदवारको टिकटका लागि भएको चलखेलका कारण असन्तुष्ट रहेको माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको पनि साथसहयोग पाउने र प्रदेशमा काँग्रेसको उम्मेदवार नभएकोले पनि काँग्रेसी मतदाताहरुले कलम छापका उम्मेदवार श्रेष्ठको पक्षमा मतदान गर्ने नगर अध्यक्ष दाहालको दाबी छ । 

यसअघि प्रदेश सभा सदस्यमा निर्वाचित काँग्रेसका धनलाल थोकरले यसपटक टिकट नपाउनु, माओवादीका जिल्लास्तरका जिम्मेवार नेतानै असन्तुष्ट रहनु, कलम छापका उम्मेदवार जनजाति समुदायको हुनु, स्थानीय युवा, समाजसेवी र बौद्धिक व्यक्तित्वहरुको साथ रहनु तथा स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले ल्याएको मतको आधारमा समेत श्रेष्ठको जीत सुनिश्चित रहेको दाहालको तर्क छ । 

अन्य पार्टीबाट प्रदेश सभा सदस्यमा उम्मेदवार रहेकाहरु पटक पटक निर्वाचनमा उठेर जनताबाट अनुमोदित हुन नसकेका, स्मार्ट सिटीको सपनामात्रै बाँडेका, पदका लागि मरिहत्ते गर्ने, चुनावका बेला नमस्कार गर्दै घरदैलोमा पुग्ने र चुनावपछि उनीहरुलाई भेट्नै गाह्रो हुने तथा नमस्कार गर्दा समेत नफर्काउने नराम्रो छबी बनाएका छन् । यसले पनि जनताले आफ्नो दुःखसुखमा सधैं भेट्ने गरेका कलम छापका उम्मेदवार श्रेष्ठलाई रोज्ने आँकलन गरिएको छ । 

रौतहट क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदमा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसको तर्फबाट देवप्रसाद तिमल्सिना रहेका छन् भने प्रदेश सभा ९क० मा मित्रवत प्रतिष्पर्धा हुन लागेको छ । केन्द्रीय स्तरबाट गठबन्धनका साझा उम्मेदवार भन्दै विज्ञप्ति प्रकाशित गर्न गरिएको चलखेलबाट समेत स्थानीय कार्यकर्ता र जनताको तहमा कलम छापका उम्मेदवार श्रेष्ठलाई थप बलियो बनाउँदै लगेको नगर अध्यक्ष दाहालले बताए ।

उक्त क्षेत्रको प्रदेश सभा सदस्यमा एकीकृत समाजवादीका श्रेष्ठसहित नेकपा माओवादी केन्द्रका युवराज भट्टराई र नेकपा एमालेका अखिलेश्वर चौधरी प्रतिष्पर्धीका रुपमा रहेका छन् । 

Advertisement

Advertisement