सहकारीको साढे २ अर्ब हिनामिना गरेर फरार मेयर नेपाली १६ महिनापछि अदालतमा पेस

Advertisement

गलकोट । बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई सोमबार जिल्ला अदालत बागलुङमा पेस गरिएको छ । 

१६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । नेपालीलाई काठमाडौँबाट आइतबार बागलुङ ल्याइएको हो । उनलाई म्याद थप गरी आजै बयान लिइने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले जानकारी दिए । 

Advertisement

चिलवालका अनुसार उनलाई सोमबार जिल्ला अदालत बागलुङ पेस गरिएको छ । नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो । नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालक विरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्षको जेठमै उजुरी दिएका थिए । देवकुमार बागलुङ आएसँगै बचतकर्ताले रकम फिर्ता पाउने आशा गरेका छन् । 

नगरप्रमुख नेपालीले बागलुङ र पोखराका गरी दुई अर्ब ५० करोड बढी बचत रकम अपचलन गरेको आरोप छ ।

Advertisement

Advertisement