काठमाडौं । पदयात्राका लागि विभिन्न देशका पर्यटकहरुले टान (ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल) बाट मात्रै एक महिनामै चार हजार १४७ वटा टिम्स कार्ड (पदयात्रा अनुमति पत्र) लिएका छन् । टानबाहेक नेपाल पर्यटन बोर्डले पनि यस्तो कार्ड वितरण गर्छ ।
उनीहरुले गएको अक्टोबर महिनामा टानबाट यति धेरै संख्यामा टिम्स कार्ड लिएका हुन् । पर्यटकहरुले गएको सेप्टेम्बर महिनामा एक हजार ५३५ वटा टिम्स कार्ड लिएका थिए । पर्यटकीय मौसमय सुरु भएसँगै नेपालमा पर्यटकको आगमन बढेको भने पदयात्रा र हिमाल आरोहणमा जानेहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।
टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले अक्टोबरमा टिम्स कार्ड लिएर पदयात्रामा गएका पर्यटकहरुको पूरा तथ्याङ्क आउन बाँकी रहेको बताए । कोरोना महामारीपछि यस सिजनमा पदयात्रा जाने चाहने पर्यटकहरु धेरै देखिएको बताउँदै उनले यसका लागि थप पर्यटक भित्रिने क्रम जारी रहेको बताए ।
गएको सेप्टेम्बर महिनामा ६१ देशका पर्यटकले टानबाट टिम्स कार्ड लिँदा पर्यटन बोर्डबाट तीन हजार २५२ पर्यटकलाई थप टिम्स कार्ड जारी भएको देखिन्छ । टानबाट टिम्स कार्ड लिनेमा अन्नपूर्ण पदयात्रामा जाने सबैभन्दा बढीः एक हजार २३२ छन् । त्यस्तै, बोर्डले गएको अक्टोबर महिनामा छ हजार ५५२ जनालाई टिम्स कार्ड जारी गरेको बार्डले जनाएको छ ।
त्यसबाहेक हिमाल आरोहणका लागि शरद ऋतुमा ७७ देशका एक हजार ३१७ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । उनीहरुले विभिन्न ४३ वटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । अनुमति लिनेमध्ये ३०४ जना महिला र एक हजार १३ जना पुरुष छन् । उनीहरुबाट सरकारले आठ करोड ८५ लाख ६१ हजार ५८९ रुपियाँ रोयल्टी पनि संकलन गरेको छ ।