काठमाडौं । नेपालमा पहिलो पटक ‘बेष्ट एयरलाइन्स अवार्ड’ आयोजना गर्न लागेको ‘बेष्ट एयरलाइन्स अवार्ड नेपाल’ले जानकारी दिएको छ । उक्त संस्थाले आउँदो डिसेम्बर १३ मा यस्तो अवार्ड कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ ।
बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै बेष्ट एयरलाइन्स अवार्ड नेपालले नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड गर्न लागेको बताएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष सागरदेव लाखेले हवाई क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायले अवार्ड घोषणा गर्न लागेको बताए ।
उनले अन्तर्राष्ट्रियतर्फ १६ विधा बेस्ट एयरलाइन्स आवर्डमा ३ विधामा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएको बताए । उनले ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गराउने बताए । लाखेले २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारहरूमध्येबाट एक उत्कृष्टलाई चयन गरिने बताए ।
उनले विभिन्न डिजिटल तथा अन्य माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा अवार्ड दिने बताए । लाखेले अवार्डको निर्णायक मण्डलमा ११ जना प्रतिष्ठित व्यत्तिहरु रहेको बताए जसमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाकी अध्यक्ष अम्बिका श्रेष्ठ, होटेल एशोशिएसनकी अध्यक्ष सिर्जना राणा, स्कुल क्लव अफ काठमाडौंका अध्यक्ष प्रविणबहादुर पाण्डे, नाटाका पूर्वअध्यक्ष सीएन पाण्डे छन् ।
त्यस्तै उनले अन्य निर्णायकमा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएशन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, नेपाल इन्कका अध्यक्ष अनिल केशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरी तथा नेपाल गैरआवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेको बतए ।
अवार्ड, नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने जनाइएको छ जसमा नेपालबाट काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिष्पर्धा गर्नेछन् । अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रूपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आवद्ध संघसंस्थाहरूसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फि वा स्पोन्सरसिप नलिएको बताएको छ ।