पोखरामा पर्वतारोहण संघले मनायो ‘माउन्टेन फेस्टिभल’, योगदान दिनेहरु सम्मानित (फोटोफिचर)

Advertisement

पोखरा । नेपाल पर्वतारोहण संघले पोखरामा सातौं माउन्टेन फेस्टिभल– २०२२ आयोजना गरेको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा संघले शनिबार र आइतबार दुई दिन माउन्टेन फेस्टिभल आयोजना गरेको हो । 

संयुक्त राष्ट्र संघले डिसेम्बर ११ तारिखलाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएअनुसार नेपालमा पनि विभिन्न कार्यक्रम गरी आयोजना भइरहेका छन् । पोखराको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठलगायत सहभागी थिए । 

Advertisement

कार्यक्रममा पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना रहेको बताए । उनले पर्वतीय पर्यटनका धेरै सम्भावनालाई अझै पनि अपेक्षित उपयोग गर्न नसकिएको बताए । 

नेपाल प्राकृतिकरुपमा सम्पन्न भएको बताउँदै पुनले यस्ता सम्पन्नतालाई पर्यटकीयरुपमा उपयोग गर्दै समृद्धि हासिल गर्न सकिने बताए । उनले प्रकृति र संस्कृतिसँगै विभिन्न जातजाति भाषाभाषीका विविधता हाम्रो सम्पत्ति भएको उल्लेख गर्दै तिनको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए । 

विश्वका आठ हजारभन्दा बढी उचाइका १४ वटै हिमचुचुरामध्ये सगरमाथासहित आठ वटा नेपालमै पर्छन् । पुनले पर्वतीय पर्यटनका माध्यमबाट यहाँको पर्यटनमा विशिष्ट योगदान हुनसक्ने धारणा समेत राखे । 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले प्रकृति र संस्कृतिका विविधता रहेको नेपाल हिमाल पहाड र तराई गरी भौगोलिक संरचनामा विभक्त भएको बताए । जैविक विविधता पनि यहाँको अर्को महत्वपूर्ण पक्ष भएको बताउँदै उनले यसको संरक्षण र उपयोगमा जोड दिए । 

श्रेष्ठले पदयात्रासँगै साहसिक पर्यटकका विभिन्न गतिविधिका माध्यमबाट पर्यटकीय विकास सम्भव भएको बताए । उनले साधनस्रोतलाई उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए । 

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा शेर्पाले पर्वतीय पर्यटनको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नुपर्ने बताए । 

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालयले पर्यटनको दिगो विकासका लागि ७३ बुँदे कार्ययोजना अघि सारेको बताए । 

कार्यक्रममा पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिएको थियो । उक्त महोत्सवमा पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको उनले जानकारी दिए । 

सो अवसरमा पर्वतारोहणमा उत्कृष्ट उपलब्धि हासिल गरेका विभिन्न कीर्तिमान राख्ने आरोहीहरुलाई पदक र प्रशंसा पत्रले सम्मान गरिएको थियो । 

संघले पुरुषतर्फ कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट, २६ औं पटक सगरमाथा आरोही कामीरिता शेर्पा र दोहोर्याएर विश्वका १४ सर्वोच्च शिखरहरुको सफल आरोहण गर्ने पहिलो व्यक्ति, विश्वकीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड सानु शेर्पालाई आउट्स्टयान्डिङ अचिभ्मन्ट मेडल (उत्कृष्ट उपलब्धि पदक)बाट सम्मानित गरेको थियो । 

त्यस्तै, महिलातर्फ निमी शेर्पा, लाक्पा फुटी शेर्पा, फुन्जो झाङ्मु लामा र पूर्णिमा श्रेष्ठलाई अतुलनीय कीर्तिमान र योगदानका लागि सम्मानित गरेको थियो । त्यस्तै, निमा डोमा शेर्पा, फुर्डिकी शेर्पा, ह्योल्मो समुदायकी पहिलो महिला सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मो, भोटे समुदायका तर्फबाट निशा भोटे, कीर्तिमानी पर्वतारोही लाक्पा देण्डी शेर्पालाई पनि उपलब्धि हासिल गरेकोमा प्रशंसा पत्रले सम्मान गरिएको थियो । 

सोही कार्यक्रममा मिङ्मा गेलु शेर्पालाई कुमार खड्गविक्रम शाह अवार्ड र डा. हर्क गुरुङ अवार्ड ङ्गग्याल्यान शेर्पालाई प्रदान गरिएको थियो ।

संघका पूर्वअध्यक्ष शान्तवीर लामा, संघका सल्लाहकार मिङ्मा शेर्पा, संघका सल्लाहकार तथा पूर्व स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, माउन्टेन गाइड एसोसिएसनका महासचिव रामकाजी, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज (नारा)का अध्यक्ष शिव अधिकारी, विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट कामीरिता शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट सानु शेर्पा, संघका पूर्व महासचिव कुल बहादुर गुरुङ, संघका पूर्वसचिवटीकाराम गुरुङ, सगरमाथा आरोही संघका महासचिव शिव सापकोटा, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ लगायत पर्यटन व्यवसाय तथा आरोहीहरुको उपस्थित रहेको थियो ।

Advertisement

Advertisement