काठमाडौं । नेपाल बीमा प्राधिकरणले वीरगञ्जमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । मधेस क्षेत्रलाई लक्षित गरी प्राधिकरणले सोमबार आफ्नो नयाँ शाखा सञ्चालन गरेको हो ।
प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले यस कार्यालयको उद्घाटन गरे । यसअघि, प्राधिकरणले धनगढी र सुर्खेतमा पनि क्षेत्रीय कार्यालयहरु सञ्चालनमा ल्याइसकेको छ ।
आजको कार्यक्रममा अध्यक्ष सिलवालले प्राधिकरणले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न अनुमति दिएको र लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम सुरु गर्ने बताए ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरू शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए । हरेक किसानसम्म बीमाको पहुँच पुग्नुपर्ने उनको भनाई छ ।
सिंहले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानीका लागि अनावश्यक कागजात माग्ने, झुलाउने र समयमा दाबी भुक्तानी नदिने जस्ता गुनासाहरू आउने गरेको भन्दै त्यस्ता गतिविधि तत्कालै रोकिनुपर्ने बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी दिने बेलामा अनावश्यक कागजात मागेर हैरान पार्ने गरेको गुनासो गरे ।