बादी समुदायका युवतीहरुको गुनासोः सरकारले शिक्षामा विभेद गर्दा यौन व्यवसाय अँगाल्न बाध्य भयौं

Advertisement

काठमाडौं । बादी समुदायका युवतीहरुले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । 

सोमवार बादी समुदायका युवतीहरुले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडिएको वर्गले अर्को पिछडिएको वर्गसँग भिडिरहनुपरेको भन्दै बादी समुदायलाई छुट्टै कोटाको व्यवस्था सरकारले गरिदिनुपर्ने बताए । 

Advertisement

युवतीहरुले संविधानमा लेखिएका कुराहरु कागजमा मात्रै सिमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएको महशुस आफूले गरेको बताए । बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका उनीहरुले सरकारले बादी युवतीहरुको शिक्षामा विभेद गरेका कारण आफूहरु यौन व्यवसाय अँगाल्न बाध्य भएको बताए । 

बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरिरहेकी देवीसरा बादीले बादी समुदायलाई शिक्षामा विभेद गरिँदा बादी युवतीहरु बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताइन् । उनले पहिला अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भए पनि पछिल्लो समय सरकार सहयोगी नबन्दा यौन व्यवसायमा लागिरहेको बताए । 

देवीसराले बादी समुदायका महिलाहरु घर खर्च धान्नका लागि भए पनि सानै उमेरबाट यौन व्यवसायमा लाग्ने गरेको बताइन् । उनले आमाको नाममा नागरिकता बन्ने कानून बनेपनि बुबाको पहिचान खोज्दा हजारांै बादी युवाहरुले दुःख व्यहोरिरहेको बताइन् । 

देवीसराले तीन तहकै सरकार आफ्नो समुदायका समस्याप्रति उदासिन बनेका कारण बादी समुदायका समस्या जस्ताको तस्तै भएको बताइन् । 

त्यस्तै बादी समुदायबाट अधिवक्ता बनेकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताइन् । उनले नागरिकता पाउन पनि बादी समुदायले हात पाउ जोड्नुपर्ने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । 

उनले राजनीतिक दलहरुले निर्वाचनताका ठूलो आशा देखाउने तर अघिपछि हेप्ने प्रवृत्ति रहेको बताइन् । सीताले भनिन्, ‘नेपालमा जतिसुकै व्यवस्था आएपनि बादी समुदायको अवस्था बदलिन सकेको छैन । नागरिकता पाउन पनि हात पाउ जोड्नुपर्छ । हामीले भोट दिँदा केही हेर्दैनन् आश देखाउँछन् तर अघिपछि बादी भन्छन् । हामीले भोट दिएकोबदलामा केही पनि गरेको छैन ।’

उनले सरकारले बादी समुदायका बालबालिकाको शिक्षामा सहयोग नगर्ने र अन्य संस्थाले पनि कक्षा १० पछि पढाउन नपाउने कानून हुँदा बादी समुदायका युवतीहरु यौन व्यवसायमा फर्किन थालेको बताइन् । आर्थिक अवस्थाका कारण यौन व्यवसायमा लाग्न बाध्य भएका बादी समुदायका युवतीहरुको उद्धारका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बादी समुदायको माग छ ।  

Advertisement

Advertisement