काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै राजश्व उपयुक्त ढंगले उठ्न नसक्दा धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको बताएका छन् ।
सोमबार संसदमा बोल्दै उनले अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको बताए । ओलीले वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा रहेको, आयात गर्ने स्थिति नरहेको र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुको साथै उद्योगहरु बन्द भइरहेको बताए । उनले अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए ।
ओलीले भने, ‘अर्थतन्त्र बढो गम्भीर अवस्थामा छ । धेरै गम्भीर अवस्थामा । राजश्व उपयुक्त ढंगले उठिरहेको छैन । धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको छ । पहिला यस्तो भएको थिएन । ऋणात्मक भएको छ । यो गम्भीर कुरा हो । वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो छ, आयात गर्ने स्थिति छैन । निर्यात गर्ने वस्तुको उत्पादन घटेको छ, उद्योगहरु बन्द भइरहेका छन् । यस्तो अवस्थामा महंगी बढ्दो छ, जनजीवन कष्टकर छ । निर्वाचनपछि प्रतिनिधि सभा यी सबै समस्याहरुको सकारात्मक समाधान खोज्नुपर्ने र यस्ता समस्याबाट रोकेर अघि बढ्नुपर्ने छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार नयाँ सरकारको विश्वासको मत लिनेमा आफू ढुक्क रहेको बताए । विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको र परिवर्तनको रुपमा नयाँ पार्टी र नयाँ सांसदहरुको उदय भएको ओलीले बताए ।
नेता ओलीले देशको उन्नतीको लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौति आफूहरुका अघि रहेको भन्दै आन्दोलनका घाउमा मलमपट्टी गर्ने चुनौति छ, मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधानका चुनौतिलाई समाधान गर्नुपर्ने बताए ।
ओलीले सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि काम गर्ने समय नहुने भन्दै गोटी चाल्ने नभई काम गर्ने बाटो समात्न आग्रह गरे । उनले सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलाग्न आग्रह गर्दै आफ्नो समयको सही उपयोग गर्न आग्रह गरे ।