काठमाडौं । लोकप्रिय क्रिकेटर संदीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएको भन्दै शनिबार विरोध प्रदर्शन भएको छ । बलात्कारको अभियोग लागेका लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध विरोध प्रदर्शन गरिएको हो ।
क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टू अन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्याण्डसँगको खेलका
लागि २० जनालाई क्याम्पमा बोलाएको थियो ।
क्रिकेटर लामिछाने शुक्रवारबाट नियमित अभ्यासमा छन् । बलात्कारको आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्वन गरे पनि रिहा भएपछि निलम्बन फुकुवा गरिसकेको छ ।
गत मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले नेपालको क्रिकेटलाई उकास्नका लागि सन्दीपलाई खेलाउनैपर्ने बाध्यता रहेको क्यानले जनाएको थियो । बैठकले सन्दीपमाथिको निलम्वन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो ।
अदालतले उनलाई क्रिकेट खेल्न रोक नलगाए पनि नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले भने लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेकोमा विरोध जनाउँदै आएका छन् । लामिछानेको आलोचना गरेकोमा सामाजिक सञ्जालमा थापा र शर्माको चर्को आलोचना भइरहेको छ ।
प्रदर्शनमा अभियुक्त रमाउँदै, पीडित डराउँदै, मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन, उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद, खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? क्यानका लठुवाहरुको बेइमानी, अभियुक्तहरुको जमानी लगायतका नारा अंकित प्लेकार्ड बोकेर केहीले विरोध जनाएका हुन् ।