काठमाडौं । पोखराको बाराही हस्पिटालिटि एण्ड लजले राजधानीको केशरमहलमा सुविधासम्पन्न ‘बाराही प्लाजा’ निर्माण गरेको छ । चार तारे होटलसहितको सपिङ मल रहने यो प्लाजा बाराही ग्रुपले निर्माण गरेको हो ।
ग्रुपले पोखराको लेकसाइड, सराङकोट र चितवनको मेघौलीमा होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ । नयाँ नयाँ परियोजनामा लगानी विस्तार गरिरहेको यो समूहले पोखरामा ‘बाराही सिद्दी’ नामक पाँच तारे सुविधासम्पन्न होटल सञ्चालनको तयारी पनि गरिरहेको छ ।
विगत चार दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय बाराही ग्रुपले छ सयभन्दा बढीलाई रोजगारी दिएको छ । ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेल हुन् । ग्रुपका उप–सभापति एल. बरुण कुमारले बाराही प्लाजा दुई–तीन महिनाभित्र सञ्चालनमा आउने बताए ।
नौ तल्लाको प्लाजामा रहने होटलको नाम होटल बाराही काठमाडौं रहने छ । सपिङ मलमा ‘लक्जरी’ स्टोरहरु पनि रहने छन्, जसमा अन्तर्राष्ट्रिय तथा आन्तरिक ब्रान्डका सामानहरुको स्टोरहरु रहने कुमारले बताए ।
प्लाजाको तीन तल्लासम्म सपिङ मल रहने छ भने चार तल्लादेखिमाथि होटल सञ्चालन हुनेछ । होटलमा ८० वटा कोठाहरु रहने छन ।
होटल बाराही पोखराः
दश वटा रुमबाट सुरु भएको होटल बाराही पोखरामा अहिले ८० वटा रुमहरु पुगेको छ । सन् १९९३ मा स्थापना भएको यो चार तारे होटल हो । फेवा ताल नजिकै रहेको होटल बाराहीमा सबैभन्दा ठूलो स्विमिङ पुल रहेको छ । होटलबाट अन्नपूर्ण हिमाल देख्न सकिन्छ । डिलक्स, सुपर डिलक्स, सुइट्स, रेस्टुरेन्ट, मिटिङ रुम र २४ घण्टे बारको सुविधा होटलमा रहेको छ ।
सराङकोट माउन्टेन लजः
पोखराको सराङकोट माउन्टेन लजमा रस्टिक सजावट, प्लस बेडहरू, स्लिक एचडी फ्ल्याट स्क्रिन टेलिभिजन, इन–रूम बाथरूम रहेका छन् । स्टाइलिस टु–इन रुम, पारिवारिक सुइट रुम गरी ३० वटा रुमहरु रहेको बताउँदै कुमारले लजबाट पनि हिमालहरुको दृश्य सजिलै देख्न सकिन्छ । लजको छतमा रहेको इन्फिनिटि पुलबाट अन्नपूर्ण रेन्ज मज्जाले देख्न सकिने उनले बताए । सराङकोटमा जिप फ्लाइर, प्याराग्लाइडिङ, हाइकिङ्, साइक्लिङलगायतको सेवा सुविधा रहेको छ । सराङकोट एउटा रमणीय गन्तव्यको रकम रहेको छ ।
बाराही जंगल लज, चितवनः
चितवनस्थित बाराही जंगल लज मेघौली विमानस्थलबाट पाँच किलोमिटर र भरतपुरबाट ३२ किलोमिटरको दूरीमा छ । होटेल स्थानीय सामग्रीहरूबाट डिजाइन गरिएको छ । तेह्र हेक्टर जमिनमा रहेको यस लजमा २८ वटा डिलक्स रुम, एउटा प्रेसिडेसियल सुइट रुम र पारिवारिक कुटिरमा तीन वटा डबल रुम गरी ३४ वटा रुम छन् । चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीको किनारमा रहेको बाराही जंगल लजमा एक सिंगे गैंडा, जंगली बदेल, बाघ, चराचुरुङ्गी जस्ता जीवहरूले पर्यटकहरुलाई रोमाञ्चकता थप्ने कुमारले बताए । बाराही जंगल लजले सन् २०७४ मा दक्षिण एशियाकै उत्कृष्ट पर्यटन पुरस्कार ‘साउथ एशियन ट्राभल अवार्ड’ जितेको स्मरण गर्दै उनले लजमा रहेको इन्फिनिटि पुल, धेरै भोजन क्षेत्रहरू, बास्केटबल र ब्याडमिन्टन कोर्ट र स्पाले अतिथिको बसाइको समय थप्ने गरेको बताए ।
लजको भित्री एवं बाहिरी सजावटले थारू जातिको मौलिक संस्कृतिका महत्वपूर्ण पक्षसँग पर्यटकलाई परिचित गराउँछ । लजले थारू समुदायको मौलिक कला, सीप र संस्कृतिसँग समेत पर्यटकलाई साक्षात्कार गराइरहेको छ भन्दै कुमारले लजका प्रत्येक कोठाहरुबाट चितवन राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्यको आनन्द लिन सकिने बताए ।