नेपालपे क्यूआरमा दुई लाख भन्दा बढी मर्चेन्ट आबद्ध

Advertisement

काठमाडौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्यूआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा २ लाख भन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ । 

नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा २ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपालपे क्यूआरमा आबद्ध हुन सक्दछन् भने  १६ बैंक वित्तीय संस्था तथा ४ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पे को सुविधा उपलब्ध छ ।  

Advertisement

विभिन्न व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । 

हाल सिटिजन्स बैंक इन्टरनेसनल, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, नेपाल एसबिआइ बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, ज्योति विकास बैंक, कामना सेवा बिकास बैंक, साइन रेसुङ्गा डेभलप्मेन्ट बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, पोखरा फाइनान्स, सम्बृद्धि फाइनान्स लगायत पेनेप प्रालि (मोरु) तथा फोकसवान सोलुसन्स्ल (मोको) मार्फत सो सेवा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक पनि थपिने क्रममा रहेका छन् ।  

हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । 

हाल उक्त सुविधा एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनएमबि बैंक, एनआइसीएसिया बैंक, प्रभु बैंक, सानिमा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु, एनक्यास र हाम्रो पे एपमा उपलब्ध रहेको छ । नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement