काठमाडौं । विगत २३ वर्षदेखि अमेरिकन नागरिक क्रेग क्यालोनिकाले नेपालको अन्नपूर्ण क्षेत्रमा स्की व्यवसायीलाई हेली स्की खेलाउँदै आएका छन् । उनी फ्रान्समा रहेको हेलेस्की कन्सल्ट्यान्टका सञ्चालक हुन् ।
उक्त कम्पनीले स्की प्रोफेश्नलहरुलाई अन्नपूर्ण क्षेत्रमा हेली स्की खेलको आयोजना गर्दै आएको हेली एभरेष्टका बजारीकरण प्रमुख सीताराम सापकोटाले बताए । यही गएको फागुन २१ गतेदेखि चैत ११ (मार्च ५ देखि २५) सम्म क्यालोनिकाले थुप्रै संख्यामा स्की खेलाडीहरुलाई नेपालमा ल्याइ हेली स्की खेलाएको सापकोटाले जानकारी दिए ।
हेली एभरेष्ट, कैलाश हेलिकप्टरमार्फत ५० जना स्की खेलाडीले हिमालमा स्की खेलेको उनले बताए । क्यालोनिकाले अन्नपूर्ण आधार शिविरको वरिपरि र मनाङ क्षेत्रमा हेली स्कीको आयोजना गराउँदै आएका छन् । सापकोटाले भने, ‘उनको नेपालमा ठूलो योगदान छ । लामो समयदेखि हेली स्की पर्यटन प्रवर्द्धन गर्दै छन् ।’
क्यालोनिका आफै पनि स्की खेलाडी हुन् । उनी स्की खेल्ने क्रममा दुर्घटनामा परि घोंडामा घाउ भएपछि शल्यक्रिया गरेकाले स्की खेल्दा गाह्रो हुने गरेको छ । क्यालोनिकाले नेपालमा प्रोफेशनल स्की खेलाडीहरु लिएर आउने गरेको र यस पटक पनि ठूलो संख्यामा लिएर आएको सोपकोटाले जानकारी दिए । अन्नपूर्ण क्षेत्रमा जति बेला हिउँ पर्छ, त्यतिबेला हेली स्कीका लागि मानिसहरु आउने गरेका छन् ।
यसअघि क्यालोनिकाले हप्तामा ४–५ जनाको ग्रुप लिएर आउने गरिए पनि यसपटक भने एउटै ग्रुपमा १५–२० जना आएको उनले सुनाए । हेली स्की गराउन पर्यटन विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएर मात्र गर्न पाइन्छ । सापकोटाले भने, ‘हेली स्कीको लागि हेलिकप्टर उडानको अनुमति लिनुपर्छ । हेली स्की भनेको हेलीले आधार शिविरबाट हिउँ परेको ठाउँमा लगेर छोडिन्छ र स्की खेल्नेहरु खेल्दै आधार शिविर झर्छन् । फेरि हेलिकप्टरले उनीहरुलाई त्यसरी नै हिउँ परेको ठाउँमा लगेर झार्छ । यसरी उनीहरुले दिनमा ३–४ पटकसम्म हेली स्की गर्छन् ।’
हेली स्की खेल पाँचदेखि छ दिनसम्म गराउने गरिन्छ । मनाङ क्षेत्रमा १६ हजार आठ सय उचाइसम्म र अन्नपूर्णमा १५ हजार पाँच सय फिटको उचाइमा हेली स्की गराइन्छ । स्की खेल्नकै लागि विदेशीहरु आउने क्रम बढ्दै गएको सापकोटाले बताए । क्यालोनिकाले नेपालका अन्य हिमाली क्षेत्रमा पनि हेली स्कीको संभावना अध्ययन गरिरहेको उनले बताए ।
हेली स्की गराउन लजिस्टिक सुविधा, हेलिकप्टर लिएर जाँदा इन्धन लगेर राख्ने ठाउँ, पिकअप र ड्रप गर्ने राम्रो र सुरक्षित ठाउँको खाँचो पर्ने बताउँदै सापकोटाले भने, ‘सुरक्षित र स्थिर हिउँ पनि चाहियो । हिउँ परेर पग्लिहाल्ने ठाउँ भएर हुँदैन हेली स्की खेल्नको लागि ।’
हेलिस्की कन्सल्ट्यान्सले नेपालको तीन प्रमुख क्षेत्रहरू अन्नपूर्ण दक्षिण क्षेत्र, मनाङ (अन्नपूर्ण उत्तरी क्षेत्र) र तिलिचो लेक (अन्नपूर्ण उत्तरी क्षेत्र)मा हेली स्की गराउँदै आएको छ ।