नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित, न्यायिक आयोग गठन गर्ने दाहालको आश्वासन

Advertisement

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेट्न बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न शनिवार बिहानका लागि मात्रै समय दिएपछि उनीहरु बालुवाटार पुगेका हुन् । पीडितहरु नारा लगाउँदै प्रधानमन्त्री निवास छिरेका थिए । उनीहरुले केही दिन यता भेट्न खोजे पनि कार्यव्यस्ततालाई देखाउँदै समय दिएका थिएनन् । 

Advertisement

यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसके पनि वार्ता मिलेको थिएन् । आज बिहानै उनीहरु ‘पीडितलाई न्याय दे’, ‘मिटरब्याजीलाई कारबाही गर’ जस्ता नारा लगाएर बालुवाटार पुगेका हुन् । 

पीडितहरुको कुरा सुनेपछि दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने आश्वासन दिएका थिए । उनले मिटरब्याज पीडितहरुका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताए । 

दाहालले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरुमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको बताए । उनले उच्चस्तरीय आयोग ‘र्यापिड एक्सन पोस्ट’ सरह काम गर्नेगरी अघि बढाइने बताए । 

दाहालले भने, ‘यसमा दीर्घकालीन समाधान गर्ने भनेको ऐनको नै व्यवस्था छैन । मिटरब्याज पीडितहरुलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको नै अभाव छ । मैले यसपटक आउने बित्तिकै ऐन ड्राफ्ट गर्न लगाएँ र अहिले त्यो ऐन अन्तिम चरणमा छ । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरुमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ । मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन । मिटरब्याजी समस्यालाई लिएर मन्त्रीस्तरीय बैठकबाट नै एउटा उच्चस्तरीय आयोग तत्काल फिल्डमा गएर कारबाही गर्नसक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्नसक्ने आयोग बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । त्यो प्रक्रिया अघि बढीसकेको छ । त्यसलाई ¥यापिड एक्शन पोस्ट जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जि काट्ने र कारबाही गर्ने खालको होस् ।’

उनले मिटरब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताए । शनिवार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री दाहालसँग भक्कानिएर आफ्ना पीडाहरु राखेका राखेका थिए । उनीहरुले आफ्ना ६ वटा मागहरु पूरा सम्बोधन भएपछि मात्रै काठमाडौं छोड्ने अडान लिएका थिए । 

Advertisement

Advertisement