कृषि विकास बैंकले सातै प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । कृषि विकास बैंकले चैत ७ गतेदेखि १२ गतेसम्म देशका सातवटै प्रदेशका बिभिन्न नौ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

नेपालमा पनि ग्लोबल मनि वीकलाई मनाउने सिलसिलामा नेपाल राष्ट्र बैंकको आव्हानमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रवन्धकहरु, प्रदेश प्रमुखहरु र विभिन्न क्याम्पस तथा विद्यालयका प्राध्यापक र शिक्षकहरुको आतिथ्ययमा वित्तीय साक्षरतासम्बन्धी कार्यपत्रको प्रस्तुतीकरण सहितको कार्यक्रम सम्पन्न गरिएको हो । 

Advertisement

यसैक्रममा प्रदेश कार्यालय दाङका निर्देशक राजेशकुमार श्रीवास्तवको अध्यक्षतामा चैत ७ गते रोल्पा जिल्लाको गंगादेव-०३ नाउलीमा संचालित कार्यक्रममा सो क्षेत्रका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीसहित १३१ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ‘वित्तीय अनुशासन एवं महिला उद्यमशीलता’ सम्बन्धी कार्यपत्रसहित साक्षरता कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि तथा श्रोतव्यक्ति बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि पालिका प्रमुख हरिबहादुर पुनको समेत उपस्थिति रहेको थियो ।

यसैगरी प्रदेश कार्यालय भैरहवाले चैत ८ गते बैंकका प्रदेश निर्देशक सरोजकुमार साहको अध्यक्षतामा लुम्विनी वाणिज्य क्याम्पस, बुटवलमा क्याम्पसका बिबिए तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरेको छ । ८० जना विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि उपमहाप्रवन्धक डा. बाबुकाजी थापाले विद्यार्थीको फ्याकल्टीसँग मिल्दोजुल्दो कक्षा डिजिटल डिस्प्ले शीर्षक रहेको कार्यपत्र प्रस्तुत गरेका थिए ।  

कोशी प्रदेश कार्यालय विराटनगरका निर्देशक रन्जन खनालको अध्यक्षतामा ७  गते इलामको मंगलबारेमा विद्यार्थी र महिला समूहलाई लक्षित गरी वित्तीय साक्षरता, वित्तीय अनुशासन एवं महिला उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । 

यसैगरी मधेश प्रदेश कार्यालय जनकपुरका निर्देशक नवीनकुमार पाख्रिनको अध्यक्षता ९ गते श्री जनता नमुना प्राविधिक मावि गिद्धावेलापटि, धनुषामा कृषक समूह, आमा समूह, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई केन्द्रित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । 

प्रदेश कार्यालय कर्णली, सुर्खेतले पनि सोही दिन वित्तीय साक्षरता/वित्तीय अनुशासन उद्यमशिलता तथा डिजिटल प्रोडक्ट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस बैंकको गण्डकी प्रदेश कार्यालय पोखराले मिति गुरुकुल विद्यासदन नयाँबजार, पोखरामा बैंकका प्रदेश निर्देशक प्रकाश कर्णेलको अध्यक्षतामा विद्यालयमा अध्ययनरत विद्यार्थी वर्गलाई लक्षित गरी कार्यक्रम संचालन गरेको थियो । 

सुदुर पश्चिम प्रदेश कार्यालय धनगढीले १० महाकाली बहुमुखी क्याम्पस, बेलौरीमा कलेजका विद्यार्थी तथा शिक्षकवर्गलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता एवं श्रोत व्यक्ति यस बैकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने रहेका थिए । 

बागमती प्रदेश कार्यालय काठमाडौंका मुख्यनिर्देशक निर्मलप्रसाद उपाध्यायको अध्यक्षतामा शिक्षक, बिद्यार्थी, कर्मचारी र लोपोन्मुख जिरेल जातिलाई लक्षित गरी श्री सरस्वती सामुदायिक विद्यालय जिरी, दोलखमा सोही दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो । 

प्रदेश कार्यालय वीरेन्द्रनगरले पनि चैत १२ गतेका मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ०४  छतिवनस्थित श्री महेन्द्र माध्यमिक बिद्यालय (प्राविधिक शिक्षालय) मा सोही विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विधार्थी, शिक्षक र बैंकका ग्राहकहरुसमेत १०० जनाभन्दा बढीको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो । 

देशभर संचालित वित्तीय साक्षरता कार्यक्रमहरुमा सहभागीहरुलाई बचत के हो ? खाताका प्रकारहरु, बैक तथा वित्तीय संस्थाहरुले उपलव्ध गराउने सेवा तथा सुविधाहरु, उद्यमशीलता, कर्जा प्राप्त गर्ने प्रक्रियाहरु, बैकसँग कारोवार गर्दा हुने फाइदा, डिजिटल बैकिङ प्रोडक्टहरु आदि विषयमा जानकारी प्रदान गरिएको थियो । 
 

Advertisement

Advertisement