काठमाडौं । चौधरी समूहले समिट रेसिडेन्सी परियोजना निर्माणमा आफ्नो संलग्नता नरहेको बताएको छ । चौधरी समूहअन्तर्गत सिजी डेभलपर्स प्रा.लि.का अध्यक्ष राहुल चौधरीले विज्ञप्ति जारी गर्दै समिट होटलमा सिजी डेभलपर्सको ३० प्रतिशत मात्रै लगानी रहेको बताउँदै घटनामा चौधरी समूहलाई मुट्ने र गलत प्रयास गर्ने कुरा उचित नभएको बताएको छ ।
समिट होटल प्रालीले विकास गरिरहेको परियोजना वरपरको घर भासिन थालेपछि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उद्योगी विनोद चौधरी र उनको ग्रुपलाई जोडेर आलोचना गरिएपछि सिजी डेभलपर्सले
समिट रेसिडेन्सीको सञ्चालन र व्यवस्थापनमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेको हो ।
समिट रेसिडेन्सीमा बाँकी ७० प्रतिशत हिस्सा साझेदारहरू रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उनीहरूको परिवारको रहेको र यसको सञ्चालन र व्यवस्थापन पनि चौधरी समूहअन्तर्गतको कम्पनीले नगरेको बताउँदै यस परियोजनाका आधिकारिक प्रवक्ताका संचित श्रेष्ठ भएको बताएको छ ।
समिट होटल प्रा.ली.ले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिएका छन् । सिजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको छ । अहिले उसले ललितपुरको भैंसेपाटीमा सिजी हिल्स प्रिमियम विकास गरिरहेको छ । यी परियोजनाहरूको व्यवसायिक व्यवस्थापन र सञ्चालन भने सिजी डेभलपर्सले गर्दछ ।