बागदरबार र सिंहदरबारको फोहोरको द्धन्द्ध चर्किंदै, बालेनलाई चेतावनीमूलक आग्रह

Advertisement

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर शाहलाई सचेत गराएको हो । 

बैठकमा शितलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाबिरुद्ध रहेको बताइन् । 

Advertisement

उनले बैठकमा नीतिगत व्यवस्था अनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् । उनले बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाषक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रीपरिषद्बाट स्वीकृत गरिएको बताइन् । 

शर्माले भनिन्, ‘आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाषक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने भन्ने विषय हाम्रो समितिमा गएको थियो, समितिबाट आएर आज मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ । सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा गर्नुभएको विषय नीतिगत रुपमा काठमाडौं उपत्यकाका फोहोर स्थानीय तहले उठाउने भन्ने नीतिगत व्यवस्था हो । त्यो नीतिगत व्यवस्था परिवर्तन भएको छैन । त्यसैअनुसार यसलाई व्यवस्थापन गर्न छलफल गर्ने र त्यसो हुँदा पनि नभए नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने भन्ने विषयमा गम्भीर छलफल छ । उहाँको अभिव्यक्ति राम्रो छैन भन्नेकुरामा छलफल भएको छ । नीतिगत रुपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्ति गरिएको छ ।’

Advertisement

Advertisement