ओलीलाई भेट्न बालकोट पुगे देउवा र दाहाल, संवैधानिक परिषदको बैठकमा आउन ओली तयार

Advertisement

काठमाडौं । राजनीतिक ध्रुविकरणका कारण संवैधानिक नियुक्ति अवरुद्ध भइरहेको बेला एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा बिहानै बालकोट पुगेका छन् । 

भेटवार्तापछि विशेषगरी प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको जनाइएको छ । प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलनमा उत्रिने वकिलहरुको संगठन नेपाल बार एशोसियशनले चेतावनी दिएको छ । 

Advertisement

बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले दाहाल, देउवा र ओलीबीच भएको भेटमा सर्वोच्च अदालत लामो समयसम्म कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेकोले यो स्थिति रहनुहुन्न भन्नेमा सहमत भएको बताए । दाहालले छिटो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव राखेको र सो प्रस्तावमा संवैधानिक परिषदको बैठक बोलाएर नियुक्ति प्रक्रिया अघि बढाउन भनिएको लेखकले बताए । 

उनका अनुसार प्रधानमन्त्री दाहालले उपयुक्त समयमा बैठक बोलाउने छन् । भेटमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ । प्रधानन्यायाधीश नियुक्तिमा आफ्नो सहयोग रहने ओलीले आश्वासन दिएको बताइएको छ । संवैधानिक परिषदमा ओली बलियो छन् । 

Advertisement

Advertisement