काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषदको बैठक निर्णयबिहीन भएको छ ।
प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलनमा उत्रिने वकिलहरुको संगठनले चेतावनी दिएसँगै सत्तापक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सक्रिय भएको थियो । त्यसै क्रममा बुधबार बिहान बसेको बैठकमा कुनै निर्णय हुन सकेन् ।
बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको बताए । बैठक निर्णयबिहीन भए पनि अर्को बैठकको मिति पनि नतोक्किएकाले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अन्योलमा रहने देखिएको छ ।
हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् । यसअघिका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई भ्रष्टाचार मुद्दामा ठूला नेतालाई कारवाही गराउन खोजेपछि महाभियोग प्रस्ताव दर्ता गरेर लामो समयसम्म निलम्बनमा राख्ने र कार्यालय छिर्न नदिने काम गरिएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, विपक्षी दलका नेता केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।