पाँच बर्ष पूरानो जुत्ताचप्पल उद्योग बन्द गरेर वैदेशिक रोजागारीमा जाने निष्कर्षमा पुगे कुँवर

Advertisement

काठमाडौं । नवलपुर गैंडाकोटका व्यवसायी विनोद कुँवर वैदेशिक रोजगारीका लागि विदेशिने तयारीमा छन् । उनको यो बाध्यता मुलुकको परिस्थितिले सिर्जना गरेको हो । 

विगत पाँच बर्षदेखि कुँवरले सञ्चालन गर्दै आएको ओ.वि. जुत्ता चप्पल उद्योग बन्द भएको छ । काम गर्ने दक्ष कामदार नपाएपछि उनको उद्योग बन्द भएको दुई महिना भयो । कुँवर भन्छन्, ‘काम गर्ने मान्छे पाउनै छोड्यो । जेनतेन चलाउँदासम्म बनाएको जुत्ता चप्पल पनि बिक्री गर्न गाह्रो । घाटा खाएर बेच्नुपर्ने । उधारो दियो, उठाउन गाह्रो । भएको मान्छेले पनि छोड्यो । नयाँ नपाउने । दुई महिना भयो उद्योग बन्द गरेको छ ।’
 
यस उद्योगबाट पाँच बर्षमा ४० लाख रुपियाँ घाटा भएको उनले पीडा सुनाए । कुँवरले थपे, ‘नेपालमा उद्योग खोले पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । उद्योग चलाइन्जेल दुई सय जति कालिगढ फेरिए होलान् । जुत्ताचप्पल उद्योगमा नेपाली कालिगढ खासै पाइन्न । भारतीय एकपटक घर जान्छु भनेर  पैसा लिएर गएपछि प्रायः फर्किन्नन् ।’
 
उनले सात लाख रुपियाँ लगानीमा उद्योग खोलेका थिए । कुँवरको उद्योगबाट हवाई (रबरको लोते चप्पल), कक (लेडिज) सुज, स्कुलका जुत्ता, छालाका विभिन्न खाले जुत्ता उत्पादन हुन्थ्यो । आफूले उत्पादन गरेका जुत्ता चप्पल गाँउदेखि शहरसम्म बिक्री हुने गरेको र कुनै समय मासिक दुई लाख रुपियाँसम्म आम्दानी गरे पनि अहिले भने बन्द गर्नुपर्ने अवस्था आएको कुँवरले सुनाए । उनले भारतबाट कच्चा पदार्थ आयात गरी जुत्ता चप्पल बनाउने गरेको बताए । 

Advertisement

उद्योग सञ्चालनमा ल्याएको केही समयमै कामदारले आठ लाख रुपियाँ बराबरका जुत्ता चप्पल बनाउने कच्चा पदार्थ चोरी गरेर फरार भएको बताउँदै कुँवरले नेपालमा सामान उत्पादनका लागि ल्याइने कच्चा पदार्थको भन्सार दरभन्दा आयातित तयारी जुत्ताचप्पलको भन्सार दर सस्तो भएपछि कसरी नेपाली उद्योग टिक्नसक्छ ? भनी प्रश्न गरे । नेपालमा उद्योग चलाउन उत्पादन लागत नै महंगो भएको उनले गुनासो पोखे । 

कुँवरले भने, ‘भन्सार दर १५ प्रतिशतबाट एकै पटक बढाएर ३० प्रतिशत पुगेपछि व्यवसाय गर्न झनै गाह्रो भयो । ‘व्यवसायमा साह्रै हण्डर खाइयो, अहिले कारखाना बन्द हुन पुग्यो, उनले भने, ‘जुत्ता चप्पल जस्ता उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकासँग पैसा हुन्छ । बजेट सक्नलाई झारा टार्ने तालिम दियो । सक्यो । कुन सामग्री कहाँ प्रयोग हुन्छ ? भन्ने ज्ञान नै नहुनेले प्रशिक्षण दिएर कसरी हुन्छ ? फेरि नेपालीले तालिम लिन नखोज्ने । बिहारीलाई ल्याएर तालिम दिनुपर्ने बाध्यता हुन्थ्यो । नेपालमै उद्योगहरुको विकास र विस्तार गर्नुपर्छ भन्ने सोच र इच्छाशक्ति राज्यका निकायहरुमा भएन् ।’  

अहिले आफू बेरोजगार रहेको सुनाउँदै कुँवरले उद्योग सुचारु गर्नसक्ने वातावरण नभएकाले परिवारको जीवनयापनका लागि वैदेशिक रोजगारीमा जान लागेको बताए । उनले भने, ‘देशमा अरु कुनै बाटै भएन् ।’

Advertisement

Advertisement