स्वीकृति नलिई छापिएका सबै पात्रोहरु जफत गरी छाप्नेलाई कारवाही गरिने

Advertisement

काठमाडौं। गृह मन्त्रालयले स्वीकृतिबिना छापिएका सबै खालका पात्रोहरु जफत गरी प्रकाशित गर्नेलाई कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 

बजारमा अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो निकै धेरै देखिएको बेला मन्त्रालयले त्यसको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न र प्रकाशित गर्नेलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको हो ।

Advertisement

मन्त्रालयको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको भन्दै उक्त समितिको स्वीकृतिबिना छपाइएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो गैरकानुनी भएको बताएको छ । 

पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो अवैध भएको मन्त्रालयको भनाई छ । 

समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्न चाहनेले नियमानुसार स्वीकृति लिनुपर्ने उल्लेख छ । स्वीकृति लिएर प्रकाशन भए वा नभएको स्थानीयरूपमा निरीक्षण तथा अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था समितिको दिग्दर्शनमा रहेको छ ।

सरकारले बिदा स्वीकृत गर्नुपूर्व नै स्वीकृति नलिई गलत मुहूर्त र चाडपर्व राखी प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो बजारमा छ्याप्छ्याप्ती रहेकाले निरीक्षण एवं अनुगमन गरी सचेत गराउन र आगामी वर्षदेखि यस्ता काम कारबाही नियन्त्रण गर्न वा गराउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयको परिपत्रपछि अनधिकृतरूपमा प्रकाशन भइरहेका पात्रो, भित्तेपात्रो र गोजीपात्रोका कारण चाड, पर्व, तिथि, मितिका बारेमा हुने समस्या समाधान हुने विश्वास लिएको समितिले जनाएको छ ।

Advertisement

Advertisement