नरभक्षी बाघलाई चिडियाखानामा राखियो, महाराजासँग जोडी बाँधिदिने

Advertisement

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आईतवार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ । 

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । आक्रमणपछि उनको निधन भएको थियो । 

Advertisement

अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्तीसहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भइ बाघ नियन्त्रणमा लिइ चिडियाखानामा ल्याइएको हो । 

बाघ नियन्त्रणमा लिइ चिडियाघरमा ल्याइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले बाघले धेरै मानिसहरुलाई क्षति गरेकाले नियन्त्रणमा लिइ चिडियाखानामा राखिएको बताए । उनले अहिले चिडियाखानामा चार वटा बाघ राख्नसक्ने क्षमता भए पनि ५ वटा बाघ रहेको बताए । 

अधिकारीले आईतवार ल्याइएको बाघसहित ५ वटा बाघमध्ये ४ वटा भाले बाघ र एउटा पोथी बाघ रहेको बताए । उनले चिडियाखानमा एउटा महाराजा नामक बाघ रहेको र उसलाई जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघ महारानी नाम दिएर राख्ने योजना रहेको बताए । 

अधिकारीले भने, ‘यो बाघ कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ मा सिमसार जस्तो क्षेत्रमा गंगादेवी चन्द, ४२ वर्षको उहाँलाई आक्रमण गर्दा मृत्यु भयो । हाम्रो साथीहरुले हिजो बिहान धेरै चाँडो यो बाघ नियन्त्रणमा लिन सक्नुभयो । बाघले नेपालमा धेरै मानिसको क्षति गरेको छ । यस्ता बाघलाई नसमाति उपाय नै छैन, त्यसैले पनि यो बाघलाई नियन्त्रण लिएर चिडियाखानामा ल्याएका हौँ । यहाँ दुई जोडी बाघ राख्नसक्ने क्षमता छ, अहिले ५ वटा छन्, जसमा ४ भाले र पोथी एक बाघ छ, पोथी बाघलाई यहाँ ल्याउनुको कारण कुनै एक भाले बाघसँग जोडी मिले राख्ने सोच छ । यहाँ एउटा महाराजा भन्ने बाघ छ, त्योसँग जोडी मिलेर मिलाएर राख्ने सोच छ । यी दुई बाघ मिले भने महाराज, महारानी नाम मिलाएर राख्ने सोच छ ।’

उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई जना (एक जना नेपालीसहित) को बाघका कारण ज्यान गएको पाइएको सदस्यसचिव अधिकारीले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ । 

Advertisement

Advertisement