काठमाडौं । बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्काको सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय स्टेडियममा बुधबार नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे नेपालले चिरपरिचित प्रतिद्वन्द्वी श्रीलङ्काको सामना गर्ने भएको हो ।
भारतमा हुने बाह्राँै दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टोलीका लागि श्रीलङ्काविरुद्वको खेल निकै महत्वपूर्ण मानिएको छ । केही समयअघि भारतमा भएको साफ च्याम्पियनसीपमा फुटबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग १–० गोलअन्तरले पराजित भएको थियो । त्यतिबेलाको खेलमा श्रीलङ्कासँग भोगेको हारको बदलासमेत लिने नेपाललाई सुनौलो अवसर छ ।
त्यस्तै, यसअघि भएको पहिलो खेलमा भने नेपालले साविक विजेता मलेसियालाई १–१ गोलको बराबरीमा रोकेको थियो । समूह ‘ए’ मा रहेको नेपाल लिगको दोस्रो स्थानमा छ । नेपालले जारी प्रतियोगितामा एक अङ्क जोेडेको छ भने चौथो स्थानमा रहेको श्रीलङ्का अङ्कविहीन छ । त्यसैगरी, समूह ‘ए’ अन्तर्गत नै रहेको बङ्गलादेश तीन अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने एक अङ्क जोडेको मलेसिया लिगको तेस्रो स्थानमा छ ।
प्रतियोगितामा समूह ‘बी’ मा रहेको माल्दिभ्स ३ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने बहराइन, बङ्गलादेशको २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टिम र कम्बोडिया क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । बहराइन र बङ्गलादेशले समान एक÷एक अङ्क जोडेका छन् भने कम्बोडिया अङ्कविहीन छ ।
प्रत्येक समूहमा पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । बुधबार नै हुने अर्को खेलमा बङ्गलादेश र मलेसिया आमने सामने हुँदैछन् । विभिन्न आठ टोलीले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको हो । रासस