लुटपाटको उद्देश्यले निरा पाण्डेको हत्या, प्रहरीले सार्वजनिक गरेको हत्या आरोपी को हुन् ?

Advertisement

काठमाडौं । चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या गर्नेलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । 

हत्यामा संलग्न रहेको आरोप लागेका झापा विनोद विकलाई प्रहरीले सार्वजनिक गरेको हो । उनले लुटपाटको उद्देश्यले निराको हत्या गरेको प्रहरीको प्रारम्भिक ठम्याई छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पत्रकार सम्मेलन गर्दै निराले लगाएको सुन लुट्ने उद्देश्यले विकले हत्या गरेको बताएको छ । 

Advertisement

सीआईबीका एसएसपी दिनेश आचार्यले आरोपी विकलाई झापाबाट शनिबार पक्राउ गरिएको बताए । निराको गत वैशाख ७ गते आफ्नै पसलमा हत्या भएको थियो । हत्या गरेर निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११–१२ हजार रुपियाँ लुटपाट गरिएको थियो । 

बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपियाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको आचार्यले बताए ।

उनले भने, ‘थप अनुसन्धान भएर नयाँ चिज पनि आउन सक्छ । अहिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’ निराको परिवारसँग यसअघि बिकको सम्पर्क भएको नपाइएको बताउँदै आचार्यले थपे, ‘मृतक र मृतकका परिवारसँग यसअघि उसको सम्पर्क भएको देखिएन् ।’ विकले आर्थिक समस्याका कारण हत्या गरेको पाइएको प्रहरीको भनाई छ । 

Advertisement

Advertisement