महावीर पुन नेतृत्वको जनआन्दोलनलाई राप्रपा र डा. गोविन्द केसीको पनि ऐक्यवद्धता

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारमा लाग्दै आएका डा. गोविन्द केसीले माईतीघर मण्डलामा जारी राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन नेतृत्वको टोलीले सुरु गरेको जनआन्दोलनप्रति एक्यवद्धता जनाएका छन् । 

अनुसन्धान, नवप्रर्वतन र आविष्कारका लागि नीतिगत व्यवस्थासँगै पर्याप्त बजेट विनियोजन नगर्दासम्म देशको आर्थिक विकास नहुने भन्दै पुनले अनिश्चिितकाली धर्ना सुरु गरेका छन् । यस आन्दोलनलाई उनले जनआन्दोलन भनेका छन् । 

Advertisement

आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीको धर्ना कार्यक्रम स्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिवद्धता जनाए । उनले देशका लागि सुरु गरिएको सो सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि सिंगो देशबासीलाई अपील गरे । 

लिङदेनले आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे । उनले सो माग सरकारलाई पूरा गराउनका लागि बाध्य पार्नेगरी आन्दोलनको आँधिबेहरी सिर्जना गर्न पनि सिंगो देशबासीलाई आग्रह गरे । 

लिङदेनले संसदमा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए । उनले भने, ‘सरकार पक्षका मानिसहरुले आएर केही भ्रमपूर्ण कुराहरु पनि गरेजस्तो मैले बुझन पाए । यो त संसदले गर्नुपर्ने हो । मैले के गरौं भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्यो । यो काम एउटा प्रधानमन्त्रीले आएर भन्यो भने पुग्छ । संसदमा लैजानुपर्ने विषयहरु छैनन् यसमा  । सार्वजनिक खरिद ऐनले कुनै समस्या पार्छ भने त्यो खरिद ऐन सरकारले संशोधनको प्रस्ताव संसदमा ल्याओस् । हामी भोली पास गर्न तयार छौं । सरकारले ऐनमा कुनै समस्या भए संशोधनको प्रस्ताव ल्याओस् । नयाँ ऐन बनाउनुपर्ने हो भने त्यो पनि प्रस्ताव लिएर आओस् । त्यसलाई पारित गर्न हामी तयार छौं । कुनै पनि ठूलो कुरा छैन् ।’ 

लिङदेनले थपे, ‘म फेरि पनि भन्छु– सरकारले ढिलो नगरोस् । यो लाजमर्दो स्थिति पालेर नराखोस् । यो लाजमर्दो स्थिति हो । देशका लागि बेइज्जतीको कुरा हो । सरकारले ध्यान दिनुपर्ने कुरा एउटा बैज्ञानिकले, एउटा व्यक्तिले अगाडि बढाईराखेको छ । र, पनि सरकारले यहाँ धर्ना सुरु भएको ७२ घण्टा भईसक्दा पनि सरकार नदेखेजस्तो गरेर बसेको छ । म फेरि पनि भन्छु– एक छिन पनि ढिला नगरोस् यो कामको लागि । र, जबसम्म सरकार कान खोल्दैन, आँखा खोल्दैन । र, यो निर्णयमा सहमत हुन आउँदैन । तबसम्म म फेरी पनि सम्पूर्ण देशबासीहरुसँग अपिल गर्न चाहन्छु–यो एउटा पार्टीको कुरा होइन, एउटा व्यक्तिको कुरा होइन । यो देशको कुरा हो । हामी सबैले ऐक्यवद्धता व्यक्त गरौं । देशभरबाट यो सामाजिक आन्दोलनलाई साथ दिऊ । र, आँधिबेहरी सृजना गरेर यो सरकारलाई झुकाएर यो हाम्रो देशको भविष्य र हाम्रो सन्ततिको भविष्यको बारेमा हामी एक होऊ भन्ने कुरा आग्रह गर्न चाहन्छु । र, यसमा हाम्रो पार्टीको पूर्ण साथ, सहयोग र ऐक्यवद्धता रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

उनले देशको भविष्य र सन्ततिको भविष्यका लागि एक बैज्ञानिक पुनले राख्नु भएको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई चेतावनी दिए । आविष्कार केन्द्रका संस्थापक पुनले आगामी आर्थिक वर्षमा विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोषमा छुट्टयाउन सरकारसँग माग गरे । उनले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आफूहरुले सो आन्दोलन गर्नु परेको पनि पटकपटक दोहोर्याए । 

उनले भने, ‘पहिलो कुरा यो अनुसन्धान, नवप्रवद्र्धन र आविष्कार भन्ने जुन छ । यो जुन आन्दोलन चलिराखेको छ । यो के का लागि भन्दाखेरी यो बाटोमा बस्नका लागि होइन । रमाईलो गर्नका लागि होइन । यो चाँही देशको अर्थतन्त्र सुधार्नका लागि चालिएको कदम हो । अव भन्नु होला–यो आविष्कार, अनुसन्धान र नवप्रर्वतनको काम नभएको देशको अर्थतन्त्रमा सुधार नभएको हो । शान्ति नआएको हो । अशान्ति भएपछि देशमा के–के हुन्छ ? त्यो भन्न सकिदैन । अनुन्धान, नवप्रवर्तन र आविष्कार भन्ने यो तीन वटा शब्द भनेको के हो भने अर्थतन्त्र सुधार्ने बीउ हो । बीउ नभईकन केही पनि उम्रदैन संसारमा । बीच चाहिन्छ । र, यो बीउ रोपिएन भने अर्थतन्त्र सुध्रिदैन ।’

त्यस्तै, गोविन्द केसीले माइतीघरमा सुरु गरेको आन्दोलनमा आइतबार समर्थन जनाउन पुगेका थिए । 

Advertisement

Advertisement