डा. अम्बरिश पोखरेल
१. वैज्ञानिक हुनको लानि नियमितरूपमा आफ्नो क्षेत्रमा अनुसन्धानमा संलग्न रही, केही न केही नयाँ कुरा विश्वसामु प्रस्तुत गर्नको निम्ति समय समयमा अन्तर्राष्ट्रिय ‘पिर रिभ्यु’ वैज्ञानिक जर्नल (वैज्ञानिक पत्रिका)मा आफ्नो अनुसन्धान प्रकाशित गरेको हुनुपर्छ।
२. त्यो मापदण्ड पूरा नगरेको कुनै पनि मानिसलाई वैज्ञानिक मानिदैन । विश्वले वैज्ञानिक मान्दैन र भनिँदैन पनि । यो विश्व मापदण्डलाई केही नेपालीहरूले अपव्याख्या गरेको पाइन्छ । यो प्रकारको अपव्याख्याले वास्तविक नेपाली वैज्ञानिकहरुलाई अपमान गरेको ठहर्छ ।
३. वैज्ञानिक, प्राविधिक, व्यवस्थापक, साधु, सन्त, महात्मा, ऋषि, महर्षि, पादरी, भन्तेदेखि भिक्षु र साहित्यकार, गीतकार, गायक गायिका, नाट्यकर्मी, प्राध्यापक (वर्ष गन्ती गरेर प्राध्यापक हुन्छन् नेपालमा, जुन हास्यास्पद छ) पत्रकारदेखि सम्पादक र सामाजिक अभियन्तामा फरक छुट्याउन नसक्ने अवस्था रहेको नेपाली समाजमा देखियो । तर, यी सबै प्रकारका वास्तविक व्यक्तित्वहरुलाई एउटै कसीमा राखेर जबर्जस्त रुपमा स्थापित गर्न खोजेको देखिन्छ, जुन कुरा सरासर गलत हो । यसले नेपाली समाजलाई फाइदा होइन, बेफाइदा गर्छ ।
४. यसले के प्रस्ट देखायो भने कुकुर र बिरालो, ब्वाँसो र स्याल मात्र होइन, भेंडा र बाख्रामा अन्तर गर्न नसक्ने अवस्थामा नेपाली समाज विद्यमान रहेको देखिन्छ । नेपाली समाजको एउटा लुकेको पछौटेपनको कारण यो पनि हो ।
५. यही चार नम्बर बुँदाका कारण नेपालमा वैज्ञानिक, प्राविधिक तथा कुशल व्यवस्थापकहरु बस्न चाहँदैनन् । सकेसम्म बस्दैनन् । बस्ने वातावरण पनि छैन् । यो अर्को प्रकारको कमजोरी हो नेपालको । यसको निराकरण सरकारले गर्नुपर्ने थियो । तर नेपालका सरकारहरू यति धेरै निकम्मा छन कि बहालवाला पिएम (प्रधानमन्त्री)ले ‘के बुद्धले पढेका थिए र ?’ भनेर प्रश्न सोध्छ । तल बसेका त्यसका पार्टीका पाल्तु कुकुरहरुले वाह वाह गर्दै ताली पिट्छन् । त्यो ताली पिट्ने लाखौं कार्यकर्ताहरु छन् ।
६. नेपाल उँभो लाग्न आजबाट पचासौ वर्ष (पाँच पुस्ता) लाग्छ, जुन हाम्रो तेस्रो पुस्ता हो । यसरी अहिलेका नेपालीले समृद्ध नेपाल देख्न, भोग्नको लागि हजुर बुवा, बा, म (हामी), छोरा छोरी र नाति नातिना पुस्ता कुर्नुपर्ने देखिन्छ । यसरी पाँच पुस्ता हुने रहेछ कम्तीमा पनि ।
७. त्यसैले जसलाई पायो त्यसलाई नेता, राजनेता, अभियन्ता, समाजसेवी, विद्वान् बुद्धिजीवी, वैज्ञानिक भन्न र मान्न छौडौं । सही पहिचान गरौं । सही पहिचान गर्न सकिँदैन भने ‘ए त्यो मान्छे ठिकै लाग्छ’ मात्र भनौं । बरु नाम लिएर ‘ए त्यो श्यामकुमार’ वा ‘ए ती फुलमाया’ राम्रो लाग्छ भनौं । जबर्जस्ती पगरी गुथाउन छोडौ ।
८. मान, सम्मान, पद, पदवी वा व्यक्तिको व्यक्तित्वको परिचय सही रूपमा गर्नेगरौं । जथाभावी पगरी गुथाएर वास्तविक व्यक्तित्वको अपमान गरी आत्मरतिमा रमाउन छोडौं । हाम्रै नेपाली समाजको लागि यो प्रवृत्तिले नोक्सान गर्दछ । आफनै समाजको नोक्सान गर्ने गराउने कुरालाई किन जबर्जस्ती प्रयोग गर्ने ?
–लेखकको फेसबुकबाट साभार