नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा इन्द्रजित राई पक्राउ

Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको छ । 

उनलाई मंगलबार बिहान पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् । थापा नेकपा एमालेको उपाध्यक्ष समेत हुन् । उनले द्वन्द्व विज्ञको रुपमा राईलाई सल्लाहकार नियुक्त गरेका थिए ।  

Advertisement

भुटानबाट लखेटिएका नेपाली भाषी शरणर्थीलाई इण्डियाले आफ्नो मुलुकमा बस्न नदिई पूर्वी नेपालको सीमा ल्याएर अलपत्र छोडेसँगै यो मुद्दा अन्तर्राष्ट्रियकरण भएपछि अमेरिकाले स्थायी बसोबासको अनुमति दिएर लैजान तयार भएको हो । अधिकांश भुटानी शरणार्थी अमेरिका गइसके पनि छुटेकाहरुलाई पुनः लैजाने भनेपछि प्रमाणिकरण गर्ने क्रममा सयौं नेपालीहरुलाई समेत शरणार्थीको परिचयपत्र बनाइदिने काम भएको थियो । 

यसरी शरणार्थीको सुचीमा नेपालीहरुलाई राख्ने र अमेरिका पठाइदिन्छु भन्दै रकम उठाउने कार्यमा गृह मन्त्रालयका उच्च कर्मचारीदेखि राजनीतिक दलका नेता, उनीहरुका कार्यकर्तासमेत संलग्न भएका थिए । यस कार्यमा संलग्न कोर समूहले अमेरिका जान खोज्ने करिव साढे आठ सय जनासँग दश लाखदेखि ५० लाख रुपियाँसम्म उठाएको पाइएको छ । 

पीडितहरुको उजुरी र दबाबपछि गिरोहमा संलग्नहरु पक्राउ पर्ने क्रममा राई पनि पक्राउ परेका हुन् । गिरोहमा संलग्न रहेको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परिसकेका छन् । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला निजी सचिव थिए । 

पीडितहरुले यस कार्यमा नेपाली कांग्रेसकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा, देउवा प्रधानमन्त्री हुँदा बालुवाटारमा बस्ने केही सहयोगी, टोपबहादुर रायमाझी, शक्ति बस्नेत, रामबहादुर थापा, सुजाता कोइरालालगायतका नेता, गृह मन्त्रालयका सचिव भईसकेका कर्मचारी, यूएनएचसीआरका कर्मचारीको अप्रत्यक्ष संलग्नता र संरक्षण रहेको आरोप लगाउँदै आएका छन् । 

Advertisement

Advertisement