झुट्ठा विवरण पेश गरी नागरिकता लिने युवन्तिका ओलीको कार्यकर्ता, ढाँटेर हिमाल आरोहण

Advertisement

काठमाडौं । गत बर्ष वैशाख ३० गते सगरमाथा आरोहण गर्ने युवन्तिका राई झुठ्ठा विवरण दिई नेपाली नागरिकता लिएको भन्दै जिल्ला अदालत चितवनले ठहर गरेको पाइएको छ । 

राईले झुट्ठा विवरश पेश गरी वंशजको नागरिकता लिएको भन्दै जाहेरी परेपछि सो आधारमा अघि बढेको मुद्दामा जिल्ला अदालत चितवनले २०७९ फागुन १० गते राईलाई दोषी औंल्याउँदै डेढ लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि नागरिकता भने खारेज नगरेको पाइएको छ ।  

Advertisement

उनले २०७९ भदौ ६ गते नेपाली नागरिकको हैसियतमा पर्यटन विभागबाट पर्वतारोहण प्रमाणपत्र लिई ‘एस्ट्रेक इको एभरेष्ट एन्ड सिचुआन एक्मी एक्सेपिडिशन २०२२’ नामक पर्वतारोहण दलको गाइड (पथप्रदर्शक)का रुपमा सगरमाथा आरोहण गरेकी थिइन् । 

इलाम निवासी राई नेकपा एमालेकी अध्यक्ष केपी ओलीको कार्यकर्ता  रहेको पाइएको छ । उनी राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य पनि हुन् । इलाममा यसअघि टिभिएस मोटरसाइलकको शोरुम सञ्चालन गर्दै आएकी राई किन किर्ते गरेर नागरिकता लिन गइन् ? अर्थपूर्ण देखिन्छ । आरोहण क्षेत्रमा उनको नागरिकता नक्कली भएको चर्चा भएपछि पर्यटन विभागले चासो देखाएको हो ।  

के हो घट्ना ? 
युवन्तिका राईलाई अदालतले गलत र झुट्ठा विवरण पेश गरी नागरिकता लिएको आधार दोषी ठहर गरे पनि नागरिकता भने खारेज गरेको छैन् । उनी नेपाली हुन वा गैरनेपाली हुन ? सो पनि खुलाइएको छैन् । राईले युवन्तिका तामाङको नाममा जिल्ला प्रशासन कार्यालय चितवनबाट नेपाली नागरिकता लिन सफल भएको देखिन्छ । निजले चितवन निवासी छविलाल तामाङ र लक्ष्मी तामाङ आफ्नो आमा बाबु रहेको दावी गर्दै बंशजको आधार नागरिकता लिएकाले जिल्ला अदालत चितवनले सजाय सुनाएको छ ।   

युवन्तिकालाई नागरिकता बनाउन छविलाल र लक्ष्मीका छोरा किशोरको हात रहेको बयान र कागजजाजका आधारमा देखिन्छ । उनले आफ्नो बहिनी भन्दै युवन्तिकालाई नक्कली नागरिकता दिलाएका थिए । अदालतको आदेशमा ‘लक्ष्मी तामाङले घटनाविवरण कागज गर्दा मसँग कुनै नाता नभएकी व्यक्ति युवन्तिका तामाङले म र श्रीमान छविलाल तामाङको दाम्पत्य जीवनबाट जन्मिएकी छोरी हुँ भनी झुट्टा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता बनाएकी रहेछन्’ भनेर बयान दिएको उल्लेख गरिएको छ । 

प्रतिवादी युवन्तिकालाई नागरिकता बनाई सहयोग गर्ने कार्यमा आफ्नो छोरा किशोर तामाङ समेत संलग्न रहेको स्वीकार गर्दै लक्ष्मी तामाङले युवन्तिकाले पनि अदालतसमक्ष बयान दिने क्रममा जाहेरवालाका छोरा सहप्रतिवादी किशोर तामाङले नै नागरिकता बनाइदिएको स्वीकार गरेकी छन् । 

युवन्तिकाले विदेश जानको लागी नागरिकता बनाएको गरेको र आफूले यो नेपाली नागरिकता लिएर कसैलाई अप्ठ्यारो नपारेको जिकिर गर्दै आफूले नागरिकता लिएको जाहेरवालाकी श्रीमती लक्ष्मी तामाङलाई पनि पहिले नै जानकारी रहेको बयान दिएकी छन् । 

अनुसूचि फारममा किशोर तामाङले नै युवन्तिकालाई आफ्नी बहिनी भनी सनाखत गरेको देखिन्छ । अदालतले प्राप्त प्रमाणका आधारमा आरोपितले कसूर गरेको भन्न सकिने मनासिव आधार भएको भन्दै मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ६८७२ बमोजिम युवन्तिका तामाङ भन्ने युवन्तिका राईबाट धरौटी दिई तारेखमा छोड्न, धरौटी नबुझाए कारागार पठाउन आदेश दिएको छ । 

नागरिकता विवाद कायम रहे पनि अदालतले युवन्तिकाको नागरिकता खारेज नगरेकाले अहिले पनि उनले पर्वतारोहण प्रमाणपत्रको दुरुपयोग गरिरहेको विभागको भनाई छ ।यसअघि भारतीय नागरिकले नेपालमा फर्जी विवरण बुझाएर पर्वतारोहण प्रमाणपत्र लिएका थिए ।  भारतीय नरेन्द्र यादव सिंह र सीमा रानीले सन् २०१६ मा सगरमाथा आरोहणका लागि फर्जी विवरण बुझाएको पाइएपछि विभागले पर्वतारोहण प्रमाणपत्र रद्द गरेको थियो । पर्यटन ऐन, २०३५ मा आरोहण तथा पदयात्राका क्रममा पालना गर्नुपर्ने विभिन्न नियम र दण्डसजायको व्यवस्था गरिएको छ । 


 

Advertisement

Advertisement