काठमाडौं । यस वसन्त ऋतुको पहिलो ल्होत्सेको आरोहण सफल भएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से हिमालको चुचुरोमा इमाजिन नेपाल ट्रेक्सका चार जना शेर्पाले सफल आरोहण गरेका हुन् ।
इमाजिन नेपाल ट्रेक्सका अनुसार आज (सोमबार) दिउँसो १२ बजेर ५० मिनेटमा तामटिङ शेर्पा, दावा तेन्जी शेर्पा, पेम्बा तामाङ र पासाङ नामग्याल शेर्पाले ल्होत्से हिमाल आरोहण गरेका हुन् ।
उक्त कम्पनीका रोप फिक्सिङ (डोरी टाँग्ने) टिमले ल्होत्सेको चुचुरोसम्मको बाटो खोलेको छ ।
यस वर्ष अहिलेसम्मकै धेरै आरोहीहरुले सगरमाथा आरोहण गर्न अनुमति लिएका छन् । साथै, रोयल्टी पनि अहिलेसम्मकै उच्च संकलन भएको पर्यटन विभागले जनाएको छ ।
विमागले दिएको मे १४ तारिखको तथ्याङक अनुसार सगरमाथासहित २८ वटा हिमाल आरोहणका लागि ४० मुलुकका एक हजार १७६ जना आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका छन् ।
अनुमति लिनेमध्ये ८९९ जना पुरुष र २७७ जना महिला छन् । उनीहरुबाट ७६ करोड ५७ लाख ५८ हजार ३ रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।
आरोहीहरुले सुर्मा सरोवर नथ (६,५२३ मि), अन्नपूर्ण–१ (८,०९१ मि), पाङग्री गोलदुम्बा (६,६२० मि), मनास्लु (८,१६३ मि), थोराङ पिक (६,१४४ मि), सगरमाथा (८,८४८.८६ मि), बरुण त्से (७,१२९ मि), ल्होत्से (८,५१६ मि), नोप्से (७,८५५ मि), हिमलुङ हिमाल (७,१२६ मि), गन्चेङपो (६,३७८ मि), धौलागिरि (८,१६७ मि) थापा पिक (धम्पस) (६,०१२ मि) जाक्या पिक (६,४७३ मि), आमा दब्लम (६,८१४ मि), मकालु (८,४६३ मि), अरनिको चुली (६,०३४ मि), खातुङ काङ (६,४८४मि), तु त्से (६,७५८ मि), पुमोरी (७,१३८ मि), कञ्चनजंगा (८,५८६ मि), काब्रु (७,३१८ मि), तेङगी रागी ताउ (अगोले) (६,९३८ मि), चाङवाटाङ (६,१२५मि), चण्डी हिमाल (६,०९६मि), होंगु ÷सुरा पीक (६,७६४मि), भृकुटी (६,४७६मि) हिमाल आरोहण अनुमति लिएका छन् ।