मकैको खोस्टाबाट हस्तकलाको सामानहरु बनाएर विदेशसम्म निर्यात गर्न सफल लक्ष्मी नकर्मी

Advertisement

काठमाडौं । ललितपुरकी  लक्ष्मी नकर्मीले ‘सिस्टर क्रियसन’ नामक हस्तकला उद्योग सञ्चालन गर्दै आएकी छन् । उद्योगबाट उनले खेर जाने कमैको खोस्टा र काठको धुलो प्रयोग गरी हस्तकलाका सामग्री बनाउने गर्छिन । 

नकर्मीले आफूले उत्पादन गरेका सामानहरु भृकुटीमण्डपमा जारी चेम्बर एक्स्पोमा प्रदर्शन तथा बिक्री गरिरहेकी छन् । फरक क्षमता भएका महिलालाई रोजगारी दिँदै आएकाले नेपाल चेम्बर अफ कमर्सले उनको स्टलको शुल्क समेत लिएको छैन् । 

Advertisement

विगत २८ वर्षदेखि हस्तकला व्यवसाय गर्दै आएकी नकर्मीले आफूले निर्माण गर्दै आएका सामग्री नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री गर्दै आएकी छन् । 

उनले तयार पारेका मकैका खोस्टाका सामग्री १५० देखि ५० हजारसम्ममा बिक्री गरिन्छ । कोरोना महामारीअघि जस्तो निर्यात भयो भने व्यवसाय केही राम्रो  हुने नकर्मीको अपेक्षा छ । अर्को बर्षदेखि व्यापार राम्रो हुने आशामा रहेकी उनले मकैको खोस्टा र काठको धुलोबाट विभिन्न आकारका चरा, मुर्ती, किरिङ, फूल, सजावटका सामान निर्माण गर्छिन् । 

नकर्मीले आफूले बनाएका सामग्री तीन हजारभन्दा बढी रहेको बताउँछिन् । नेपाली र पश्चिमा दुवै संस्कृतिका सामग्री हातले तयार गर्दै बिक्री गर्दै आएकी उनले १० हजार रुपियाँ लगानीबाट यो व्यवसाय सुरु गरेको सुनाइन् । 

नकर्मीको भनाई छ, ‘ग्राहकको रोजाईअनुसारका सामान बनाउँदा हप्ता दिनमै एक लाख रुपियाँसम्मको व्यापार पनि हुने गरेको छ ।’ मकैको खोस्टाको सामग्री निर्माण गर्दा सुरुमा व्यवसायभन्दा पनि रहर लागेर सुरु गरेको उनले बताइन् । 

नकर्मीले थपिन, ‘पछि काम गर्दै जाँदा व्यवसायमा परिणत भयो । एवान लाइब्रेरीको म्यागाजिनमा मकैको खोस्टाबाट खुकुलोरुपमा बाँधेको आकृति एउटा सामग्री देखेपछि मैले पनि यस्ता सामान बनाउन थालेको हो ।’ 

नकर्मीले देशका विभिन्न स्थानमा मकैको खोस्टाबाट सामान बनाउने तालिम दिँदै आएको बताइन् । तर पछिल्लो समयमा मकैको खोस्टाको अभाव हुन थालेको उनको गुनासो छ । नकर्मीले दुई सय किलो खोस्टाको तीन सय रुपियाँ तिर्नुपर्ने अवस्था रहेको बताइन् । उनले सुनाकोटी, बुङमती, दुवाकोटबाट खोस्टा ल्याउने गरेको जानकारी दिइन् । 
  
व्यवसाय सुरु गर्दा आर्थिक संकट झेल्नुपरेको अनुभव सुनाउँदै उद्यमी नकर्मीले अहिलेको अवस्थासम्म आइपुग्न धेरै संघर्ष गर्नुपरेको बताइन् । 

Advertisement