माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे दाहालको जवाफप्रति मेरो आपत्ति छः राई

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएका छन् । 

शुक्रबार राष्ट्रियसभा बैठकमा उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार (हिजो) प्रतिनिधिसभामा सोधिएको प्रश्नको उही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । दाहालले महालेखापरीक्षकको कार्यालयले ठिक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपुर्याउने तर्क गरेका थिए । 

Advertisement

सांसद राईले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए । उनले भने, ‘हामी सबैको चाहना, नेपाली जनताको चाहना सुशासन हो । सुशासन कायम गर्न सकियो भने स्वभाविक हिसावले नेपाली जनताका बीचमा आशा पलाउँछ । यो आशा पलाउनका लागि मुलुकको नेतृत्व गरिरहेको मान्छेको भनाई र गराईमा एकरुपता हुन आवश्यक छ ।’ 

राईले थपे, ‘मैले हिजो प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रम टिभीमा हेर्दै थिए । त्यहाँ एक जना माननीयज्यूले क्यान्टोनमेन्टको भ्रष्टाचारको बारेमा कुरा उठाउनु भयो । त्यतिमात्रै उठाउनु भएन् । उहाँले अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रा सेना ७–८ हजार त हो नि । हामीले ३५ हजार लगेर हाल्दिएको, कम्तिमा २० हजार त प्रमाणिकरण गर्न भ्यायौं नि भनेर भन्नु भएको कुरा पनि उहाँले सोध्नु भएको थियो । तर जवाफमा चाँही हिसाव ठिकै छ । महालेखा परीक्षकको कार्यालयले ठिक भनिसकेकाले यसलाई नकोटयाऊ भन्नु भयो । सोधाई चाँही के थियो भने तपाईले त्यो बेला भिडियो टेपमा ७–८ हजार मात्रै भन्नु भएको थियो नि । त्यो चाँही के हो भनेर सोधिएको थियो । यसले के देखाउँछ भने मुलुकको नेतृत्व गरिरहेको मान्छेले अभिव्यक्त गर्ने भनाई, गराई र व्यवहारमा एकरुपता भएन भने सुशासन कायम हुन सक्दैन ।’ 

उनले मुलुकको नेतृत्व गर्ने नेतृत्वकर्ताहरुले भनाई र गराईमा एकरुपता हुनुपर्ने बताउँदै कहीँकतै गल्ती भएका क्षमा माग्दै अगाडि बढने काममा थालनी होस् भने । राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने बताए । 

Advertisement

Advertisement