काठमाडौं । अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष वीरबहादुर खडकाले हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनशिप २०२४ को गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै उनले टिकट बिक्रीमा अनियमितता र भष्ट्राचार भएको बताएका हुन् । खड्काले भने, ‘हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनशिप २०२४ को गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएकोले अनियमितता र भष्ट्राचार भएको मेरो बुझाई छ । एन्फाको एक जिम्मेवार पदाधिकारी भएकोले चुप लागेर बस्नु आम खेलाडी र फुटबलप्रेमीप्रति अन्याय हुने ठानेर राज्यको नियमनकारी निकाय र आम फुटबलप्रेमी दर्शकको ध्यान आकृष्ट गराउन यो पत्रकार सम्मेलनको आयोजना गरेको छु ।’
साथै उनले टिकट बिक्रीका लागि टेण्डर आव्हान गर्नु कार्यसमितिको निर्णय र एन्फाको विधान विपरित भएको बताए ।
यस्तो छ खडकाको ठम्याईः
निम्न कारणले गर्दा एन्फालाई ठूलो क्षति पुगेको छ ।
१. एन्फा कार्यसमितिको मिति २०६१ भाद्र ११ र १३ गते सम्पन्न बैठकको निर्णय नम्बर १६ मा साफ लगायत अन्य प्रतियोगिताको गेट टिकटको दररेट निर्धारण तथा व्यवस्थापन गर्नको लागि एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकासनारायण श्रेष्ठ, प्रवीण यादव, सुरेश शाह र सजिव पाण्डे सम्मिलित पाँच सदस्यीय समिति गठन गरिएको थियो ।
२. सात दिने सूचना नै प्रक्रिया विपरित छ र सात दिनमा पनि पाँच दिन त पर्व विदा नै छ । समयसीमाभित्र एउटा मात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नुपर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नु वदनियत देखिन्छ ।
टेण्डर दिइसकेको अवस्थामा पुनः अवैधानिक तवरले सम्झौता खारेज गर्ने निर्णय पनि अपारदर्शी र स्वार्थप्रेरित देखिन्छ । एन्फाले टिकट बिक्री गर्दा अनलाइन प्लेटफर्ममार्फत गर्नुपर्नेमा सो समेत गरिएको देखिएन ।
३. माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रा. लि. लाई जुन आरोप लगाएर सम्झौता रद्द गर्ने निर्णय गरिएको छ । सोही काम एन्फाले दोहोर्याएको छ । फाइनलमा एन्फाले साधारणतर्फ १० हजार र भीआईपी तर्फ एक हजार टिकट बिक्री गर्ने निर्णय गरेको थियो । त्यो आफैले उलङ्घन गरि भीआईपीतर्फ १०८२ साधारणतर्फ १० हजार १३५ टिकट बिक्री गरिएको छ जुन तथ्य बिक्री टिकट नम्बरबाट प्रमाणित भएको देखिन्छ ।
४. अध्यक्ष देश बाहिर रहेको अवस्थामा संघको विधानको धारा ३७ (६) ले म स्वतः कार्यवाहक अध्यक्ष हुने व्यवस्था गरेको छ । माथीको निर्णयले एन्फालाई करिव १ करोड ५० लाख क्षति पुगेको मेरो बुझाई छ । संस्थालाई क्षति पुग्ने गरी अवैध कार्यहरु गरि किन टेण्डर रद्द गरियो ? बढि टिकट बिक्री गर्नुको आशय के हो ? एन्फामा टिकट बिक्री वापतको रकम जम्मा भयो भएन ? यी सबै निर्णयहरु गैरकानुनी, प्रक्रियाविपरित र अपारदर्शी भएकोले राज्यका निकायलाई छानविनका लागि आव्हान गर्न चाहन्छु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यो विषयमा उजुरी परि सकेकोले गम्भिरतापूर्वक छानवीनका लागि सम्मानीत अख्तियारको ध्यानाकर्षण गर्न चाहन्छु र अन्तमा, महिला साफ च्याम्पियनशिपबाट उठेको सम्पूर्ण रकम देशका लागि रगत पसिना बनाउने महिला खेलाडीहरुलाई दामासाहीले दिनु पर्दछ भनी जोडदार माग पनि गर्दछु ।